संयुक्त राज्य अमेरिकामा रिपब्लिकन र डेमोक्र्याट पार्टीका दर्जनौं पूर्वनेताहरूले तेस्रो पार्टी खोलेको घोषणा गरेका छन्।
समाचार संस्था रोयटर्सका अनुसार अमेरिकामा काम नलाग्ने हुँदै गएको दुई दलीय प्रणालीबाट आजित भएका मतदातालाई विकल्प दिन उनीहरूले नयाँ पार्टी खोलेको बताएका छन्। नयाँ पार्टीको नाम फरवार्ड राखिएको छ। जसको नेतृत्व पूर्वडेमोक्र्याट एन्ड्रु याङ र न्युजर्सीकी पूर्वगभर्नर क्रिस्टिन टड ह्वाइटम्यानले गर्नेछन्। याङ सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याट पार्टीबाट उम्मेदवार बन्न खोजेका थिए। तर उनी बिचमै प्रतिष्पर्धाबाट बाहिरिए। ह्वाइटम्यान रिपब्लिकन पार्टीबाट गभर्नर बनेकी थिइन्।
उनीहरूले आफ्नो पार्टी अमेरिकी राजनीतिमा दबदबा भएका रिपब्लिकन र डेमोक्र्याटिक पार्टीको विकल्प बन्ने अपेक्षा गरेका छन्।
फरवार्ड पार्टीले आउने हिउँदमा विभिन्न सहरमा राजनीतिक र्याली आयोजना गर्नेछन्। सेप्टेम्बर २४ मा उनीहरूले ह्युजटनमा पार्टीको औपचारिक घोषणा गर्नेछन्।
यो पार्टी मुख्य तीन समूहहरूको एकीकरण भएर बन्न लागेको हो। नयाँ पार्टीमा पूर्वरिपब्लिकन राष्ट्रपतिहरू रोनाल्ड रेगन, जर्ज डब्लु बुस र डोनाल्ड ट्रम्पको प्रशासनमा काम गरेका र केही दर्जन रिपब्लिकनहरूले बनाएको रिन्यु अमेरिका मुभमेन्ट, डेमोक्र्याट छोडेर एन्ड्रु याङले बनाएको फरवार्ड पार्टी र रिपब्लिकन, डेमोक्र्याट पार्टी छोडेका र केही स्वतन्त्रहरूले बनाएको सर्भ अमेरिका मुभमेन्ट एक हुँदैछन्।
उनीहरूले अमेरिकी अर्थतन्त्रलाई निष्पक्ष र विस्तारित बनाउने, अमेरिकीहरूलाई चुनावमा विकल्प दिने, सरकारप्रति विश्वास बढाउनेलगायत कुरा आफ्नो एजेन्डामा रहने बताएका छन्।
अमेरिकामा तेस्रो पार्टी फस्टाएको इतिहास छैन। कहिलेकाहीँ उनीहरूले राष्ट्रपतीय चुनावमा भने कुनै उम्मेदवारलाई हराउन वा जिताउन भने भूमिका खेलेका छन्। सन् २००० मा रिपब्लिन पार्टीका जर्ज डब्लु बुसको जितमा ग्रिन पार्टीका उम्मेदवार राल्फ नादेरले केही डेमोक्र्याट मत तानेर भूमिका खेलेको विश्लेषकहरू बताउँछन्।
नयाँ बन्न लागेको फरवार्ड पार्टीले अहिले रिपब्लिकन र डेमोक्र्याटमा बाँडिएको अमेरिकी राजनीतिलाई कसरी आफ्नो स्थान बनाउँछ भन्ने हेर्न बाँकी छ।
पार्टी निर्माणमा लागेका याङले सुरूमा पार्टीको बजेट ५० लाख डलर हुने बताएका छन्। देशभरि पार्टीको सञ्जाल विस्तार गरेर २०२४ राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनाउने उनीहरूको तयारी छ।