सत्तासीन दल नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथ ग्रहणसम्बन्धी विधेयक ल्याउन माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले प्रमुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथ ग्रहणको विधेयक ल्याउन आवश्यक रहेको बताए।
उनले पूर्वप्रधानमन्त्री ओलीले शपथ ग्रहण लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका कुराहरूको नै उच्चारण नगरेको भन्दै संसदबाटै एउटै शब्द उच्चारण हुने गरेर विधेयक पास गर्नुपर्ने बताए।
उनले शपथ मान्छेको नैतिकता र संस्कारसँग सम्बन्धित रहेकोले हास्यव्यंग्यको पात्र नबन्ने गरी विधेयक ल्याउन आग्रह गरे।
उनले अगाडि भने, ‘शपथ खुवाउनेले एउटा र शपथ खानेले एउटा नगरौं। जनता भन्ने पनि यहीँ लेखौं, ईश्वर भन्ने भए पनि यही लेखौं। महामहिम राष्ट्रपतिले एउटा भन्नुहुन्छ, प्रधानमन्त्रीले अर्को भन्नुहुन्छ। त्यो यहीँ पास गरौं नत्र हामी हास्यव्यंग्य जस्तो हुन्छौं। यी कुराहरूमा ख्याल होस्, हामी हास्यव्यंग्यको पात्र नबनौं।’
सांसद महतले आफू हास्यव्यंग्यको पात्र नबन्ने गरेर संसदबाट नै एउटै शब्दावली उच्चारण हुने शपथ ग्रहणसम्बन्धी विधेयक आवश्यक रहेको उल्लेख गरे।