मान्म,
शनिबारदेखि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–१ को लालीघाटमा शनिबार पहिरो जाँदा अवरुद्ध भएको थियो ।
कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने लालीघाट भिरमा पहिरो खस्दा शनिरबारदेखि अवरुद्ध राजमार्ग सोमबारदेखि खुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । “पहिराका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमितरूपमा सुचारु भएको छ”, उहाँले भन्नुभयो, “वर्षायाम लागेसँगै कर्णाली राजमार्ग र करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ ।”
कर्णाली करिडोरमा पानी पर्नासाथ ठाउँठाउँमा पहिरो जाने भएकाले सडक अवरुद्ध हुने पलाँता गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताउनुभयो । “भिरालो ठाउँबाट खडक खनिएका कारणले सधैँ पहिरो जाने गर्छ”, उहाँले भन्नुभयो, “पहिराका कारणले सधैँ सास्ती हुने गरेको छ ।”
कर्णाली करिडोर स्तरोन्नति नहुँदा हिउँद र वर्षायाममा पहिरो जाँदा हुने समस्याका कारण सडक डिभिजन कार्यालय जुम्ला र हुम्लालाई सडक स्तरोन्नतिका लागि आवश्यक पहल गरिदिन कालीकोट सान्नी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहले आग्रह गर्नुभयो ।