दस वर्षभन्दा लामो माओवादी द्वन्द्वमा बेपत्ता भएका छन् सूर्य कमरेड। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ उनै सूर्य कमरेडका छोरा प्रकाशको कथा हो।
तर यो बेपत्ता बाबुको खोजीको कथा होइन। यसले एक युवकको शिक्षक बन्ने संघर्षको कथा भन्छ।
प्रकाश रोकाया (प्रदीप खड्का) लाई शिक्षक बनाउने सपना उनका बाबु सूर्य कमरेडले नै देखेका थिए। उनी बेपत्ता भएपछि त्यो सपना पूरा गर्न प्रकाशकी आमा सीता (दीया मास्के) दिनरात संघर्ष गरिरहेकी छन्।
निम्नवर्गीय परिवारका प्रकाश सरकारी शिक्षक बन्न सक्दो प्रयास गर्छन्।
उनलाई आफ्नो पढाइ र क्षमतामा विश्वास छ।
तर सरकारी शिक्षक नियुक्तिमा यति अनियमितता छ, उनलाई आफ्नो नाम निस्कँदैन कि भन्ने डर पनि छ। त्यसैले जसरी पनि नाम निकाल्ने हुटहुटीले उनी घुस दिन तयार हुन्छन्।
प्रकाश सामान्यतया अन्याय, अत्याचार, अनियमितता सहन नसक्ने व्यक्ति हुन्। कसैलाई अन्याय पर्यो भने उनी विद्रोह गर्न पछि पर्दैनन्। तर शिक्षक नियुक्तिमा व्याप्त अनियमितताबारे उनी थाहा पाएर पनि आवाज उठाउने हिम्मत गर्दैनन्। यहाँसम्म कि, आफ्नै बेपत्ता बाबुलाई मृत घोषणा गरेर क्षतिपूर्ति लिनसमेत उनी अघि सर्छन्।
यसरी ‘प्रकाश’ ले एकातिर राजनीति र प्रशासनमा व्याप्त भ्रष्टाचार उजागर गरेको छ भने अर्कातिर हाम्रो समाजलाई जकडेको जातीय विभेदको पर्खाल उभ्याएको छ।
तर सामाजिक अन्यायमा पर्दा आवाज उठाउन तत्पर रहने प्रकाश आफैं अन्यायमा पर्दा भने किन विद्रोह गर्दैनन्? यसको जवाफ फिल्मले दिँदैन।
अभिनयका हिसाबले शिक्षक बन्न दौडधूप गरिरहेका र बेपत्ता माओवादीका छोराको संघर्षपूर्ण जीवन बाँचिरहेका प्रकाशको भूमिकामा प्रदीप खड्का अब्बल छन्।
उनी यसअघिसम्म चक्लेटी हिरोका रूपमा परिचित थिए। यो फिल्मबाट उनले जुम्लाका युवकको भूमिकालाई न्याय गरेका छन्।
आफ्नो हिँडाइ, बोलाइ र लवाइबाट प्रदीपले पुरानो चोला उतारेर जुम्लाका युवकका रूपमा आफूलाई ढाल्न सफल भएका छन्।
दीया मास्केले उत्कृष्ट कलाकारका रूपमा आफूलाई प्रमाणित गरिसकेकी छन्।
यो फिल्ममा मुख्य अभिनेताकी आमाको भूमिका निर्वाह गर्दा उनी कतै चुकेकी छैनन्।
यही फिल्मबाट ‘डेब्यू’ गरेकी अभिनेत्री रेनु योगीले राम्रो सम्भावना देखाएकी छन्।
भूमिका छोटो भए पनि अन्य कलाकारको भीडमा आफूलाई उभ्याउन उनी सफल छिन्।
दिनेश राउतको निर्देशनमा बनेको यो फिल्मको सुरू र अन्त्यको दृश्य सुन्दर ढंगले संयोजन गरिएको छ।
पहिलो दृश्यमा प्रकाश शिक्षक लाइसेन्स परीक्षाको नतिजा हेर्न उत्साहित हुँदै शिक्षक सेवा आयोग गइरहेका छन्।
उनी मलामीको लश्कर पार गर्दै अघि बढ्छन्। यो दृश्यले उनको सपना र त्यो सपनाको बाटोमा आउने चुनौती सँगसँगै चित्रण गरेको छ।
फिल्मको अन्त्य पनि यस्तै दृश्यबाट हुन्छ जसमा प्रकाश आफैं मलामी भएर हिँडिरहँदा अर्को दिशाबाट चुनाव जितेको टोली नारा लगाउँदै आइरहेको हुन्छ।
यहाँ कसैको दु:ख र कसैको खुसीलाई एकसाथ पर्दामा उतारिएको छ। एक नागरिकका रूपमा प्रकाशले भोगेको असफलतालाई तिनै नागरिकको भोट पाएर चुनाव जितेका नेताको तामझामसँग तुलना गर्न खोजिएको छ।
फिल्मको अर्को दृश्यमा सरकारी जागिर खान पैसा खर्च गर्नुपर्छ भनेर सिकाउने एक शिक्षक आफ्ना विद्यार्थीहरूलाई नैतिक शिक्षाको पाठ पढाउँछन्।
यो दृश्यले समाजको गिर्दो नैतिकतालाई सशक्त रूपमा चित्रण गर्छ।
फिल्मको छायांकन राम्रो छ। फिल्ममा एउटा पुल बारम्बार देखिन्छ। जति बेला हेर्दा पनि त्यो पुलले दर्शकको मन लोभ्याउँछ।
यहाँ निर्देशकले उक्त पुललाई समाजको दुइटा तप्का जोड्ने कडीका रूपमा देखाउन खोजेका हुन सक्छन्।
परिवर्तनको यो विम्बलाई हरेक दृश्यमा सुन्दर देखाउनुले सामाजिक परिवर्तनप्रति निर्देशकको सकारात्मक भाव बुझिन्छ।
फिल्मको कथा राम्रो छ तर पटकथाले खल्लो बनाउँछ। घटनाहरू सुस्त ढंगमा अघि बढ्छन्।
सजिलै बुझ्न सकिने घटनालाई पनि दृश्यमार्फत् जबर्जस्ती बुझाइएको छ जसले फिल्मको गति घटाउँछ। एक युवाले शिक्षक बन्न गरेको संघर्षको प्रस्तुति पनि सलल बगेको छैन।
फिल्ममा एक मंगोलियन युवा छन् जसलाई शिक्षक बन्न कुनै रूचि छैन। तर उनका बाबु उनलाई शिक्षक बनाउन दौडधुप गरिरहेका छन्।
निर्देशकले ती युवा बिग्रेको देखाउन उनको हातमा स्मार्ट फोन थमाइदिएका छन्।
मोबाइल बोक्नेबित्तिकै र मोबाइलमा गेम खेल्नेबित्तिकै मान्छे बिग्रन्छ भन्ने सन्देश दिन खोजिएको छ। यो अलि अस्वाभाविक लाग्छ।
यथार्थपूर्ण ढंगले जुम्लाको समाज देखाउन खोजेका निर्देशक राउत यस्ता दृश्यहरूमा कताकता अलमलिएझैं देखिन्छन्।