निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १७ दिन प्रचार गर्न पाउने गरी निर्देशिका जारी गरेको छ।
सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचार संहिता अनुसार उम्मेदवारले चुनाव प्रचारको लागि १७ दिन पाउने गरी बनाइएको छ।
आयोगले यसपालि चुनाव प्रचारको समय बढाएको भन्दै आलोचना भएको थियो। आयोगले २०७४ को चुनावमा ३० दिन प्रचार गर्न समय दिइएकोमा यसपालि बढाएर ३९ दिन पुर्याएको थियो। त्यसैलाई घटाएर १७ दिनमा पुर्याइएको हो।
‘उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा सत्र दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ’, आयोगले राजपत्रमा प्रकाशित आचार संहितामा भनिएको ।
प्रचार प्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा गर्न, सञ्चार माध्यममा प्रचार सामाग्री प्रकाशन प्रशारण गर्न तथा घर दैलो कार्यक्रम १७ दिन भित्र गरिसक्नु पर्नेछ।
निर्वाचनमा विजयी भएका उम्मेदवारले पनि कुनै किसिमको भोजभतेर वा नगद र जिन्सी वितरण गर्न नहुने भनिएको छ।
आयोगले भने मतपत्र छपाईका लागि समय धेरै लाग्ने भएकाले प्रचार प्रसारको समय धेरै छुट्याउनु परेको बताएको थियो।
स्थानीय तह निर्वाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिएको थियो।
आयोगले जारी गरेको आचारसंहितामा उम्मेदवारले निर्वाचनको मनोनयनपत्र पेश गर्न जाँदा वा घरदैलो कार्यक्रममा जाँदा पच्चीस जनाभन्दा बढीको जुलुस लिएर जान नहुने उल्लेख गरिएको छ।
‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा, गाजा तथा झांकी सहित जान नहुने,’ आचारसंहिताको दफा १३ (ण) मा उल्लेख गरिएको छ।
त्यस्तै, उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकको स्थानमा दलको झण्डा, डिजिटल बोर्ड वा फ्लेक्सको प्रदर्शन गर्न नहुने आयोगले भनेको छ।
‘उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकको स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रब्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने।’ आचारसंहितमा भनिएके छ।
तर जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा खण्ड (ड) बमोजिमको आकारका दश दश वटा सम्म झण्डा र चुनाव
चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटासम्म तुल वा फ्लेक्स राख्न बाधा नपर्ने आयोगले आचारसंहितामा जनाएको छ।
निर्वाचन आयोगद्वारा जारी आचारसंहिता अनुसार संघ र प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो दलका लागि चुनाव प्रचार गर्न नपाउने भएका छन्।
तर, आफू उठेको चुनाव क्षेत्रमा भने उनीहरुले चुनाव प्रचार गर्न पाउने छन्। त्यसरी चुनाव प्रचार गर्दा सरकारी गाडी लगायतका स्रोत साधन प्रयोग गर्न पाइने छैन।
हेर्नुहोस् आचार संहिताको पूर्णपाठ