काठमाडौं
आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी हिन्दू नेपाली नारीहरूले सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।
यसरी स्नान गरेर सप्तऋषिको पूजा गरेमा सबै प्रकारका दोष निवारण हुन्छ भन्ने धार्मिक विश्वास छ ।
यही विश्वासका साथ पशुपतिनाथ मन्दिर नजिकको बागमती नदीमा स्नान गर्ने र सप्तऋषिको पूजा गर्ने महिलाहरुको चहलपहल थियो ।
आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लागेको छ ।