चिनियाँ राष्ट्रपति सी चिनफिङले झन्डै १००० दिनपछि विदेश भ्रमण गर्ने भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सी बुधबार छिमेकी कजाखस्तान जाँदै छन्।
कजाखस्तानको विदेश मन्त्रालयले सेप्टेम्बर १४ चिनियाँ नेता नुर-सुल्तान सहरमा हुने जानकारी दिएको छ।
कोरोनाभाइरसको महामारी सुरू भएपछि चिनफिङ पहिलो पटक विदेश भ्रमणमा निस्किन लागेका हुन्।
सन् २०१९ को जनवरीमा चिनफिङले म्यानमारको भ्रमण भ्रमण गरेका थिए। जनवरी १७ र १८ मा भएको उक्त भ्रमणका क्रममा चिनफिङले केही सम्झौतामा हस्ताक्षर गरेका थिए र म्यानमारकी तत्कालीन नेतृ आनसाङ सुकीसँग हात मिलाएका थिए। त्यसपछि म्यानमारमा सैनिक शासन लागु भयो। सुकी अहिले जेलमा छन्। म्यानमार र सुकीको जीवन मात्र होइन त्यसपछि संसारभरि नै ठूलो परिवर्तन भइसकेको छ।
कोरोनाभाइरसको महामारी कम हुँदै गए पनि चीन भने अहिले पनि कोरोनाविरूद्ध शुन्य सहनशिलताको नीति लिएको छ। चीनबाटै सुरू भएको कोरोनालाई रोक्न चीनले आफ्ना देशका नागरिकसहित विदेशीलाई पनि कडा प्रतिबन्धहरू लगाएको छ। यो अवधिमा विदेश भ्रमण नगरेर राष्ट्रपति चिनफिङले त्यसको पालना गरेका छन्।
अब भने उनले उक्त प्रतिबन्ध खुकुलो पार्ने बेला भएको ठानेको हुन सक्छ।
काजखस्तानको भ्रमणपछि चिनफिङ उज्बेकस्तानमा हुने सांघाई कोअपरेशन अर्गनाइजेसनको सम्मेलनमा सहभागी हुने जनाइएको छ। सेप्टेम्बर १५ देखि १६ सम्म समरकन्दमा आठ वटा मुलुकका राष्ट्र प्रमुख सहभागी हुने उज्बेकस्तानका राष्ट्रपतिको सचिवालयलाई उद्दृत गर्दै इकोनोमिक्स टाइम्सले जनाएको छ।
सम्मेलनमा चिनफिङसँगै रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री सेहबाज शरिफ सहभागी हुनेछन्। यस्तै उज्बेकस्तानका राष्ट्रपति सेबक्यात मिजियोयेभ, कजखास्तानका राष्ट्रपति कासेम जोमार्त तोकाएभ र किर्गिस्तानका राष्ट्रपति सदिर जिपारोभ ताजिकिस्तानका राष्ट्रपति इमोमली रहमोनको पनि सहभागिता रहनेछ।