एनडीसीका लक्ष्य पूरा गर्न नेपाललाई २५ अर्ब डलर चाहिन्छ : अर्थमन्त्री
एनडीसीका लक्ष्य पूरा गर्न नेपाललाई २५ अर्ब डलर चाहिन्छ : अर्थमन्त्री

विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनमा न्यून योगदान भए पनि अल्पविकसित देशहरूले जलवायु परिवर्तनको प्रभाव महसुस गरिरहेको शर्माको भनाइ छ ।

    • बेल संचार

    • २८ भाद्र २०७९, मंगलवार

काठमाडौं

अर्थमन्त्री जनार्दन शर्माले जलवायुसम्बन्धी राष्ट्रिय स्तरमा निर्धारित योगदान (एनडीसी) अन्तर्गतका सशर्त न्यूनीकरण लक्ष्य पूरा गर्न नेपाललाई करिब २५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको बताएका छन् ।

दक्षिण कोरियाको इन्चोनमा मंगलबार आयोजित दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विविध भू–जलवायु प्रणाली, जलवायु–निर्भर अर्थतन्त्र र सीमित अनुकूलन क्षमताका कारण नेपाल जलवायु परिवर्तनका लागि विश्वको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये एक रहेको समेत बताए । यसमा देशको नाजुक स्थलाकृतिले जलवायु परिवर्तनले निम्त्याउने जोखिमलाई थप गति दिएको समेत उनले बताए ।

‘ग्लोबल वार्मिङ’को वर्तमान परिदृश्यले विभिन्न प्राकृतिक प्रकोप हिमनदी, तालको विस्फोट, बाढी, पहिरो आदिको प्रभावलाई तीव्र बनाएको उनको भनाइ छ ।

विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनमा न्यून योगदान भए पनि अल्पविकसित देशहरूले जलवायु परिवर्तनको प्रभाव महसुस गरिरहेको शर्माको भनाइ छ ।

‘हामीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघ फ्रेमवर्क कन्भेन्सनको सदस्यका रूपमा जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी कार्यलाई सक्रिय रूपमा अगाडि बढाइरहेका छौं, नेपालको हरितगृह ग्याँस उत्सर्जनमा योगदान विगत र वर्तमानमा उल्लेख्य रूपमा कम भएता पनि, हामीले विश्वव्यापी औसत तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने हो भने सबै देशहरूले आफ्नो उत्सर्जन घटाउनका लागि ठोस कदम चाल्नुपर्छ’ शर्माले भने ।

नेपाल एक महत्वाकांक्षी जलवायु सरोकारवाला देश भएको र यहाँ जलवायु परिवर्तनको प्रतिरोधी क्षमता बढाउन धेरै नीति फ्रेमवर्कहरु समर्पित भएको उनको भनाइ छ । देशका धेरै नीतिहरू मध्ये, राष्ट्रिय जलवायु परिवर्तन नीति २०१९ ले जलवायु उत्थानशील समाज निर्माण गरी राष्ट्रको सामाजिक–आर्थिक समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य बोकेको उनले बताए ।

यस नीतिले कृषि तथा खाद्य सुरक्षा, वन, जैविक विविधता तथा जलाधार संरक्षण, जलस्रोत तथा जलविद्युत्, स्वच्छ यातायात, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायतका प्रमुख विषयगत क्षेत्रहरुमा नीति, रणनीति र कार्यनीतिहरू अवलम्बन गर्ने लक्ष्य राखेको उनले बताए ।

पेरिस सम्झौता र जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघ फ्रेमवर्क कन्भेन्सनमा हस्ताक्षर गरिसकेको नेपालले ऊर्जा उत्पादन, यातायात, आवासीय खाना पकाउने र बायोग्याँस, कृषि, वन, भूमि प्रयोग र फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा देशको महत्वाकांक्षी लक्ष्यहरूको रूपरेखा प्रस्तुत गर्दै डिसेम्बर २०२० मा दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) पेस गरेको उनले जानकारी दिए । नेपालले सन् २०४५ सम्ममा कुल शून्य उत्सर्जनको लक्ष्य हासिल गर्न जलवायु कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाएको समेत उनले बताए ।

नेपालको हरित जलवायु कोषको राष्ट्रिय प्राधिकरणको रुपमा अर्थ मन्त्रालयलाई जिम्मेवारी तोकिएको भन्दै उनले नेपालसँग तीन हरित जलवायु कोष अनुमोदित परियोजना रहेको जानकारी दिए । जसमध्ये ८७.८० मिलियन अमेरिकी डलर बराबर रकम प्रत्यक्ष रूपमा हरित जलवायु कोषले योगदान गरेको छ ।

 

साताकाे चर्चित
सम्बन्धित