काठमाडौं
इतिहास जित्नेको लेखिन्छ । साफ महिला च्याम्पियनसिपमा नेपालले जितको इतिहास लेख्न सकेको छैन, भारतलाई हराउन नसक्दा धेरै पटक उपाधिबाट भने चुकेको छ ।
नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा यो पटक विगत दोहोर्याउने होइन, इतिहास तोड्ने विश्वासमा छन् । भोलि (शुक्रबार) दशरथ रंगशालामा भारतसँग हुने खेल जितेर नेपाललाई फाइनलमा पुर्याउने लक्ष्यमा छन् थापा ।
शुक्रबार हुने सेमिफाइनल खेल सन् २०१६ को पुनरावृत्तिकै रुपमा छ । सेमिफाइनलमा नेपालले सामना गर्ने प्रतिद्वन्द्वी मात्र होइन, नेपालका प्रशिक्षक समेत एउटै हुन् उनै थापा । ‘२०१६ मा भएको घटना हाम्रो विगत हो । त्यो अवस्था छैन अहिले,’ उनले भने, ‘सबै कुरा नयाँ र फरक भइसकेको छ । हिजो भएको कुरा सच्चाउन त म सक्दिनँ, तर अब हुने खेलमा नेपाल कमजोर पर्दैन ।’
सिलगुढीमा २०१६ को सेमिफाइनलमा भारतसँग नमिठो हार व्यहोरेका उनले यसपाली इतिहास तोड्ने आधार खेलाडीको क्षमता र घरेलु दर्शकको साथलाई मानेका छन् । भन्छन्, ‘यस पटक २०१६ को इतिहास दोहोरिदैन यसमा म विश्वस्त छु ।’दोस्रो पटक साफका लागि राष्ट्रिय महिला टिमको जिम्मा पाएलगत्तै उनले नयाँ जीवन भन्दै यो मौका खेर नफाल्ने बताएका थिए । ‘अहिले हाम्रा खेलाडीहरुमा आत्मविश्वास छ,’ उनी भन्छन्, ‘साफले नेपाल ल्याएको ट्रफी हामी अन्य देशमा लैजान दिँदैनौं भन्ने लक्ष्यका साथ नै हामी मैदानमा उत्रिएका छौं र उत्रिने छौं ।’
२०१६ यता धेरै सुधार भएको र फुटबलमा सधैं एउटा टिम सधैं बलियो र अर्को सधैं कमजोर भन्ने नरहने उनले बताए । नेपाली टिममा सुधार भएको र आफूमा पनि रणनीतिक हिसाबले निखार आएको हुनाले नेपाली टिम र आफू कमजोर नरहेको उनी दाबी गर्छन् ।
उनले राष्ट्रिय महिला टिमलाई नियालेको नौ हप्ता भयो । यसबीच खेलाडीको मनोबल निकै बलियो रहेको महसुस भएको भन्दै प्रशिक्षक थापाले भनेका छन्, ‘नेपाली खेलाडी आत्तिएका छैनन्, उनीहरु घरेलु मैदानमा उपाधी राख्ने भोकका साथ खेलेका छन् । यस पटक केही राम्रो नै हुनेछ ।’
बंगलादेशसँगको हारले सचेत भारत
मंगलबारको खेलमा बंगलादेशसँग ३–० को हार व्यहोरेपछि भारत समुह एको उपविजेता बन्यो र नेपालसँगको सेमिफाइनल भेट पक्का भयो ।
बंगलादेशसँगको त्यो हारलाई भारतीय प्रशिक्षक सुरेनकुमार क्षेत्रीले नेपालसँगको खेलका लागि टिम बलियो बनाउने मौका भनेका छन् । मंगलबारको खेलपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘नेपालको घरेलु मैदानमा नेपालसँगै खेल्नु हाम्रो लागि कम चुनौतीपूर्ण हुँदैन, तर हामी अझ बलियो भएर सेमिफाइनल खेल्नेछौं ।’
नेपाल राम्रो टोली रहेको र नेपाल एक ‘फुटबल हब’ भएको राष्ट्र भएका कारण नेपाली भूमिमा नेपालसँग खेल्न कठिन रहने उनले बताए ।
नेपाल र भारतबीचको सेमिफाइनल खेल शुक्रबार बेलुकी साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो सेमिफाइनलमा १ बजे समुह ए को विजेता टिम बंगलादेश र समुह बी को उपविजेता टिम भुटानबीच प्रतिस्पर्धा हुने छ ।