नेपाल चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’लाई ऐन तथा नियमावली अनुरुप कर र राजस्व छुट दिन चलचित्र विकास बोर्डलाई आग्रह गरेको छ।
आइतबार विज्ञप्ती जारी गर्दै संघले हिन्दी भाषामा फिल्म देखाएर स्वदेशी सरह सेवा सुविधा मागदावी गर्नु उचित नभएको बताएको छ।
‘हामी स्वदेशी फिल्मको अस्तित्व रक्षार्थ विगतदेखि नै विदेशी फिल्मको अतिक्रमणका विरूद्ध लड्दै आइरहेका छौं।
हाम्रो लडाइ विशुद्ध विदेशी फिल्मको अतिक्रमण विरुद्ध हो। फिल्म भनेको व्यापारको साधन मात्र होइन, यो भाषा, कला, साहित्य र संस्कृतिको द्योतक पनि हो।
त्यसैले यो सभ्यताको प्रतीक पनि हो। देशको नियम र कानुनको अधिनमा रही जो कोही जुनसुकै भाषाका फिल्म प्रदर्शन गर्नसक्नु हुन्छ।
तर विदेशी भाषाको फिल्म देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदावी गर्नु उचित छैन।
यसले भविष्यमा विकृतिको सुरुआत गर्न सक्छ,’ विज्ञप्तीमा उल्लेख छ।
उक्त विज्ञप्तिमा संघका महासचिव सुनिलकुमार थापाले हस्ताक्षर गरेका छन्।