पूर्व अमेरिकी गुप्तचर ठेकेदार एडवर्डलाई रूसी नागरिकता
पूर्व अमेरिकी गुप्तचर ठेकेदार एडवर्डलाई रूसी नागरिकता

३९ वर्षीय स्नोडेनले गोप्य फाइल लिक गरेको आरोपमा अमेरिकाबाट भागेर रूसमा शरण लिएका थिए।

    • Bell Sanchar

    • ११ आश्विन २०७९, मंगलवार

एजेन्सी

काठमाडौं,

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्व अमेरिकी गुप्तचर एजेन्ट एडवर्ड स्नोडेनलाई रूसी नागरिकता दिएका छन्।

राष्ट्रपति पुटिनको आदेशपछि उनलाई रूसी नागरिकता दिइएको हो। स्नोडेनमाथि अमेरिकाका कैयौं गोप्य दस्तावेज चुहाएको आरोप लागेको छ।

३९ वर्षीय स्नोडेनले गोप्य फाइल लिक गरेको आरोपमा अमेरिकाबाट भागेर रूसमा शरण लिएका थिए।

सन् २०२० मा स्नोडेनले रूसमा स्थायी बसोबासको अधिकार पाएका थिए। त्यसपछि उनलाई रुसी नागरिकता प्राप्त गर्ने औपचारिक बाटो खुलेको रोयटर्सले जनाएको छ।

योसँगै स्नोडेनकी श्रीमती लिन्डसे मिल्सले पनि नागरिकताका लागि आवेदन दिनेछिन्।

मिल्स सन् २०१४ मा स्नोडेनसँगै रूस आएकी थिइन्। उनीहरूले सन् २०१७ मा विवाह गरेका थिए। स्नोडेनले सोमबार राति ट्वीट गर्दै आफू दुई सन्तानका बाबुआमा भएको बताएका छन्।

राष्ट्रिय सुरक्षा एजेन्सीमा कार्यरत स्नोडेनले सन् २०१३ मा अमेरिकाका गोप्य भनिएका फाइल सार्वजनिक गरेका थिए। यी फाइलमा अमेरिकी गुप्तचर निकायले कसरी घरेलु र अन्तर्राष्ट्रिय स्तरमा निगरानी गर्छन् भन्ने कुरा खुलाइएको थियो।

जासुसीको आरोपमा आपराधिक  क्रियाकलाप गरेको भन्दै अमेरिकी सरकारले उनको राहदानी र नागरिकता खारेज गरेको थियो।

स्नोडेन ‘बुज एलेन ह्यामिल्टन’ नामक निजी कम्पनीमा काम गर्थे।

उक्त कम्पनीमा उनी एनएसएको उपठेकेदारका हैसियतले काम गर्थ्यो। यसरी एउटा निजी कम्पनीले स्वयम् अमेरिकी वा जुनसुकै मुलुकका राष्ट्रपति, न्यायाधीश र सांसदलगायतको डिजिटल विवरण हेर्न सक्छ भन्ने पर्दाफास भएको हो।

साताकाे चर्चित
सम्बन्धित