हुम्ला,
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि तीन स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा चार, प्रदेशसभा ‘क’ मा छ र ‘ख’ मा छ गरी १६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
गत बुधबारदेखि भएको निरन्तर भारी वर्षाका कारण हवाई सेवा बन्द हुँदा अधिकांश उम्मेरदवारहरुले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमार्फत वारिसनामाबाट मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिरिङ डम्डोललामा (कार्चेन), नेकपा (एमाले) का दल रावल, माओवादी केन्द्र समाजवादीका कर्णजित बुढाथोकी (सुशील) र राप्रपाका तेजबहादुर रावतसहित चार जनाले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका राप्रपाका रावत बाहेक लामा, रावल र बुढाथोकीले वारेसमार्फत मनोनय पत्र दर्ता गराउनुभएको थियो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहनुभएका छिरिङडम्डोलले माओवादी केन्द्रका जिल्ला कमिटी सचिव धर्मराज बोहराले पनि बारेसमार्फत मनोनय दर्ता गराउनुभयो ।
एमालेका रावलको तर्फबाट उहाँका भाइ पुन्दबहादुर रावलले र माओवादी केन्द्र समाजवादीका केन्द्रीय अध्यक्षसमेत रहनुभएका कर्णजित बुढाथोकीले जिल्लाअध्यक्ष रङ्गमल रोकायामार्फत आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा मनोनय दर्ता गराउनुभएको थियो ।
अहिलेसम्म पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एक मात्र जिल्लाका रुपमा रहेको हुम्लामा वर्षाका कारण हवाई सेवा अवरुद्ध भएपछि निर्वाचन आयोगको केन्द्रीय कार्यालयमार्फत मनोनय गराइएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका नेता शाही गठबन्धनका तर्फबाट प्रदेशसभा क्षेत्र नं ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार बन्नुभएको हो ।
मुख्यमन्त्री शाहीसँगै नेकपा एमालेका नेता छक्कबहादुर लामाले प्रकाश शाही र दल फडेराले गोकुल बुढाले पनि वारेसमार्फत आयोगको केन्द्रीय कार्यालयमो मनोनयन पत्र दर्ता गराउनुभएको थियो ।
यसैगरी गठबन्धनकातर्फबाट प्रदेश निर्वाचन क्षेत्र (क) को टिकट पाउनुभएका रणसिंह परियारले वारेसमार्फत जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा र मनोनयन दर्ता गराउनुभयो । प्रदेश निर्वाचन क्षेत्र (क) मा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका रणसिंह परियार, नेकपा (एमाले)बाट दल फडेरा, एकीकृत समाजवादीबाट हस्तबहादुर शाही, राप्रपाबाट छापे ऐडीसहित कांग्रेस नेता मङ्गलबहादुर शाही माओवादी केन्द्रका ध्रुवकुमार शाहीले स्वतन्त्ररुपमा मनोनयन पत्र दर्ता गराउनुभयो ।
यसैगरी प्रदेश निर्वाचन क्षेत्र (ख) मा गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, एमालेका छक्कबहादुर लामा, राप्रपा नेपालका सुमन रावत, जनता समाजवादीका वलिराज शाही, राप्रपाबाट नैन रावत र माओवादी केन्द्रका वली रावतले स्वतन्त्ररुमा मनोनयन दर्ता गराउनुभयो ।