कर्णालीमा नयाँ मुख्यमन्त्री को ? चुनावी मैदानमा छन् ७ आकांक्षी
कर्णालीमा नयाँ मुख्यमन्त्री को ? चुनावी मैदानमा छन् ७ आकांक्षी

कतिपय मुख्यमन्त्री बन्ने आकांक्षासहित पुनः प्रदेशमै उम्मेदवार बनेका छन् भने कतिपय प्रतिनिधिसभा छाडेर प्रदेशमा झरेका छन् ।

    • यज्ञ खत्री

    • ३० आश्विन २०७९, आईतवार

सुर्खेत । चुनावी सरगर्मी बढेसँगै कर्णालीमा भावी मुख्यमन्त्री को भन्ने आकलन सुरु भएको छ । कतिपय उम्मेदवार आफैंले आफूलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका छन् भने कतिपयलाई दलका अरु नेताहरुले सम्भावित भनेर औंल्याएका छन् ।

कतिपय मुख्यमन्त्री बन्ने आकांक्षासहित पुनः प्रदेशमै उम्मेदवार बनेका छन् भने कतिपय प्रतिनिधिसभा छाडेर प्रदेशमा झरेका छन् ।

अहिलेसम्म हेर्दा नेपाली कांग्रेसमा तीन तथा एमाले र माओवादीका दुई दुई उम्मेदवारलाई सम्भावित मुख्यमन्त्रीको रुपमा हेरिएको छ । यद्यपि कसैलाई पनि सम्बन्धित दलले भावी मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने औपचारिक निर्णय गरेका छैनन् ।

कांग्रेसमा जीवन, ललित र राजिव आकांक्षी

मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेशसभामै प्रतिस्पर्धामा उत्रिएका छन् । शाही हुम्लाको प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका छन् । सुरुमा प्रतिनिधिसभा सदस्यको चुनाव लड्न चाहेका शाहीले नाम हुम्लाबाट संघ र प्रदेश दुबैतिर सिफारिस भएको थियो ।

शाही अन्तिम समयमा प्रदेशसभामै लड्ने निर्णयमा पुगे । ‘वर्तमान मुख्यमन्त्री प्रदेशसभा लड्छ भने सांसद बन्न मात्रै त पक्कै लड्दैन होला,’ शाहीले अनलाइनखबरसँग भने ।

सांसद र मन्त्री भइसकेका शाही २०७४ मा पनि मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका थिए । तर वाम गठबन्धनले कर्णालीमा प्रतिनिधि सभातर्फ ‘क्लिन स्वीप’ गर्दा प्रदेश सभामा पनि कांग्रेसका शाही मात्र विजय भए ।

समानुपातिकतर्फ ५ सांसद पाएको कांग्रेस ४० सदस्यीय प्रदेशसभामा जम्मा ६ सिटमा खुम्चियो । मुख्यमन्त्री बन्छु भनेर प्रदेशसभा सदस्य बनेका शाही विपक्षी दलको नेतामा सिमित भए ।

तर तत्कालीन नेकपा विभाजनका हुँदा शाहीले १६ कात्तिक २०७८ मा मुख्यमन्त्री बन्ने अवसर पाए । आसन्न चुनावमा कांग्रेसले कर्णालीमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन गरेको छ । र, चुनावपछि मुख्यमन्त्री बन्ने शाहीको योजना छ । आफ्नो सरकारले सुरु गरेका बाँकी काम पूरा गर्न पनि पुनः मुख्यमन्त्रीमा दोहोरिन चाहेको उनले बताए ।

कांग्रेसमा शाही मात्र मुख्यमन्त्रीका आकांक्षी होइनन् । जुम्लाको प्रदेशसभा (क) बाट उम्मेदवार बनेका कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही पनि मुख्यमन्त्रीका आकांक्षी छन् ।

जाजरकोट (ख) मा उम्मेखवार रहेका राजिवविक्रम शाह पनि मुख्यमन्त्रीको दावेदारका रुपमा हेरिएको छ । उनी अन्तिम पटक भए पनि प्रतिनिधिसभामा जान चाहेका थिए, तर माओवादी नेता शक्ति बस्नेत प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएपछि उनी प्रदेशतिर झरेका हुन् ।

माओवादीमा शर्मा र विष्ट

माओवादीबाट चुनाव लडेकाहरु माओवादीभित्र पनि रुकुम पश्चिमको प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका राजकुमार शर्मा र सुर्खेत क्षेत्र नं. २ (ख) बाट उम्मेदवार बनेका विन्दमान विष्टलाई मुख्यमन्त्रीको सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।

माओवादी कर्णालीमा उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतको आ आफ्नै समूह छ । माओवादीको कर्णाली प्रदेश कमिटीका पूर्वअध्यक्ष समेत रहेका राजकुमार जनार्दनका विश्वास पात्र हुन् भने विन्दमानलाई शक्ति निकट मानिन्छन् ।

०७४ मा महेन्द्रबहादुर शाही प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीका अर्का दावेदार नरेश भण्डारीले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा मात्र चित्त बुझाए ।

आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका विष्टले आफूलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्ने गरेका छन् । ‘यसपटक चुनावपछि सुर्खेतले नै प्रदेशको नेतृत्व गर्नेछ, यो अवसर हामीले गुमाउनु हुँदैन’ विष्टले बुधबार पत्रकारहरुसँग भनेका थिए ।

एमालेमा कँडेल र शाह

नेकपा एमालेमास्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेल अघिल्लो पटक नै मुख्यमन्त्री बन्न चाहन्थे ।

तर सुरुमा एमाले र माओवादीबीच भागवण्डा हुँदा कर्णालीको मुख्यमन्त्री माओवादीको भागमा पर्‍यो, पार्टी एकतापछि पनि मुख्यमन्त्री बन्ने उनको प्रयास सफल भएन । नेकपा विभाजनपछि उनको सम्भावना थियो, तर माधवकुमार नेपाल समूहको असहयोगका कारण कँडेल मुख्यमन्त्री बन्न पाएनन् ।

उनी यो पटक पार्टीको एकल बहुमत ल्याउने र मूख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा बसेका छन् ।

एमालेले उनलाई सुर्खेत क्षेत्र २ (क) मा उम्मेदवार बनाएको छ । प्रदेश अध्यक्ष समेत रहेका विनोद शाहले पनि आफुलाई भावी मुख्यमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गर्ने गरेका छन् ।

कांग्रेस र माओवादी गठबन्धनतिर, एमाले एक्लै

४० सदस्यीय कर्णाली प्रदेशसभामा २४ जना प्रत्यक्ष निर्वाचनबाट आउने छन् भने १६ जना समानुपातिकबाट । प्रदेश सरकार बनाउन २१ सदस्यको समर्थन चाहिन्छ ।

मुख्यमन्त्रीको दाबेदार तीन जना भएको कांग्रेसले प्रत्यक्षतर्फ जम्मा १२ सिटमा मात्र उम्मेदवारी दिएको छ । माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गर्दा उसले १२ सिट पाएको हो । मुगु र रुकुम पश्चिमको प्रदेशसभा क्षेत्रमा कांग्रेसको उम्मेदवार नै छैन ।

माओवादी केन्द्रले १० सिटमा उम्मेदवारी दिएको छ । जाजरकोट र जुम्लामा माओवादीको उम्मेदवार नै छैन । एकीकृत समाजवादीले भने जम्मा दुई सिटमा उम्मेदवारी दिएको छ ।

उम्मेदवारी नै थोरै सिटमा भएकाले कांग्रेस र माओवादीले प्रदेशसभामा एकल बहुमत ल्याउने सम्भावना छैन । उनीहरुको योजना सत्ता गठबन्धनबाट सरकार बनाउने हो ।

एमालेले भने प्रदेशसभाका २४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ र, उसले सत्ता गठबन्धनका उम्मेदवारहरुसँग प्रतिस्पर्धा गर्नुपर्छ । एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगराम तिमिल्सेना भन्छन्, ‘कर्णालीमा हाम्रो संगठन बलियो छ, बहुमत ल्याउँछौं ।’

को कति सुरक्षित ?

मुख्यमन्त्रीको उम्मेदवार बन्नुपूर्व हरेक दावेदार प्रदेशसभा चुनाव जितेर आउनुपर्छ, जुन सहज छैन ।

बहालवाला मुख्ययमन्त्री जीवन शाहीले एमालेका छक्कबहादुर लामासँग चुनावी प्रतिस्पर्धा गर्नुपर्छ । लामा ०७४ को निर्वाचनमा वाम गठबन्धन र कांग्रेसका उम्मेद्वारलाई पराजित गर्दै हुम्लामा स्वतन्त्र रुमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

लामाले ८ हजार ४९१ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गरेका थिए । उनी यो पटक पनि चुनाव लड्न चाहन्थे, तर माओवादीले छिरिङ डम्डुल लामा ‘कार्चेन’लाई टिकट दिएपछि २२ असोजमा एमाले प्रवेश गरे र प्रदेशसभा सदस्यका लागि हुम्ला (ख) मा उम्मेदवारी दिए ।

माओवादी र एकीकृत समाजवादीको पनि समर्थन भएका कारण शाहीलाई केही सहजता छ । तर पार्टीभन्दा व्यक्ति प्रभावशाली हुने हुम्लामा शाही र लामा दुबै बलिया उम्मेदवार हुन्, त्यसेले ‘कसले जित्छ भनेर आकलन गर्न नसकिने नेताहरु बताउँछन् ।

मुख्यमन्त्रीका अर्का आकांक्षी ललितजंग शाहीलाई भने जुम्ला (ख) मा उत्तिकै सकस छ । सत्ता गठबन्धानका साझा उम्मेद्वार भएपनि शाही पार्टीभित्रै अन्तरघात हुनसक्ने नेताहरुको चिन्ता छ ।

एमालेमा मुख्यमन्त्रीका दावेदार कँडेलले सुर्खेत २ (क) मा तीन दशक पुरानामित्र कांग्रेसका कालीप्रसाद शाक्यसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । २०४९ सालमा स्थानीय निकायको निर्वाचन हुँदा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका लागि उनीहरूबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेलाको चुनावमा कँडेलले विजयी भए, शाक्य पराजित भए ।

शाक्यको अनुकलता यो छ कि २०७४ मा कँडेलको साथमा रहेको माओवादीले उनलाई समर्थन गरेको छ । तर सत्ता गठबन्धनको घटक एकीकृत समाजवादीका शिवप्रसाद उपाध्यायले बागी उम्मेदवारी दिएका कारण तीन नेताको प्रतिस्पर्धा रोचक हुनसक्छ ।

एमालेकै अर्का मुख्यमन्त्रीका दावेदार विनोद शाहले दैलेख २ (ख) मा माओवादीबाट उम्मेदवार बनेको पूर्व एमाले नेता योगेन्द्र शाहीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । सत्ता गठबन्धनका उम्मेद्वार शाहीले आफ्नो पार्टीको भोट पनि काट्न सक्ने एमाले नेताहरु बताउँछन् ।

माओवादीका मुख्यमन्त्रीका आकांक्षी रुकुम पश्चिमका राजकुमार शर्मा, सुर्खेतका बिन्दमान विष्ट र कांग्रेस जाजरकोटका राजिव विक्रम शाहलाई भने तुलनात्मक रुपमा सहज देखिन्छ । नेताहरुका अनुसार उनीहरु उम्मेदवार भएको क्षेत्रमा माओवादी र कांग्रेस दुबैको बलियो पकड छ भने गठबन्धनमा पनि खासै विवाद छैन । अनलाइनखबर

साताकाे चर्चित
सम्बन्धित