निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जिल्ला आचारसंहिता अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरुलाई निर्वाचनमा वित्तीय सुशासन कायम गर्न तथा आचारसंहिताको अनुगमनमा कडाइ गनए निर्देशन दिनुभएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोग र महालेखा नियन्त्रणको कार्यालयले आज भर्चुअल रुपमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा आर्थिक प्रशासन’सम्बन्धी अन्तक्र्रिया कार्यक्रमको शुभारम्भमा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले वित्तीय सुशासन कायम गराएर निर्वाचनको विश्वसनीयता बढाउनसमेत आग्रह गर्नुभयो ।
“आचारसंहिताको पूर्ण परिपालनामा तपाईँहरुको सक्रिय भूमिका रहोस् र यस निर्वाचनलाई शून्य बेरुजू भएको निर्वाचनका रुपमा मानक स्थापित गर्न सकियोस् भन्ने हाम्रो विश्वास रहेको छ ।
” प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “निर्वाचन भड्किलो नहोस् भन्ने हाम्रो लक्ष्य हो । यस लक्ष्य प्राप्तिका सारथी तपाईँहरु हुनुहुन्छ ।
राजनीतिक दल र उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरिएको छ ।
निर्वाचन खर्चको हदको उलंघन र आचारसंहिताको पालना नभएको सम्बन्धमा तत्काल कारबाही प्रक्रिया अघि बढाउन आयोगबाट विश्वासको साँचो सुम्पिइएको छ ।
त्यसको पूर्ण उपयोग हुने विश्वास हामीले लिएका छौँ ।”
आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरुलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोकिसकेको छ । ती अधिकृतले जिल्ला आचारसंसहिता आयोग र सम्बन्धित जिल्ला आचारसंहिता अनुगमन समितिप्रति उत्तरदारदायी भई आफ्नो निर्वाह गर्न अधिकार दिइएको छ ।
कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले आर्थिक व्यवस्थापन, सुशासन र वित्तीय उत्तरदायित्वसम्बन्धी विषयमा कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरु जिम्मेवार रहने बताउनुभयो । उहाँले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित, पारदर्शी र मितव्ययी बनाउन आयोग कटिबद्ध रहेकाले निर्वाचनल सफल बनाउन आयोगको मात्रै नभई सम्बन्धित सबै पक्षको भूमिका आवश्यक भएको बताउनुभयो ।
महालेखा नियन्त्रक हरिप्रसाद मैनालीले निर्वाचन व्यवस्थापन, अनुगमन र आर्थिक सुशासनका लागि सम्बन्धित अधिकृतहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आग्रह गर्नुभयो ।
आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरु सहभागी कार्यक्रममा अनलाइन माध्यमबाट कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख र अधिकृतहरु सहभागी हुनुभएको थियो ।