कास्की,
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको स्वर्ण सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मीलाई सोझो सेटमा हराउँदै एपिएफले स्वर्ण जितेको हो ।
खेलमा एपिएफले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेकामा दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपिएफले २७–२५ ले बाजी मा¥यो । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन ।
अन्ततः एपिएफले तेस्रो सेट पनि २६–२४ जित्दा आर्मीले रजतमा चित्त बुझायो ।
एपिएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभसमेत कमजोर हुँदा अङ्क बटुल्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेकजसो प्रतियोगितामा पुलिस वा आर्मीसँग नै फाइनलमा भिड्थ्यौँ ।
आर्मीको खेल नराम्रो भन्न मिल्दैन । हाम्रो ब्लक र डिफेन्स बलियो हुँदा यसपल्ट आर्मीको दबदबालाई तोडेर जीत हात पार्न सफल भयौँ ।”
आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपिएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो ।
एपिएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो ।
यसअघि छैटौँ राष्ट्रिय खेलकुदमा एपिएफले स्वर्ण जितेको थियो । नवौँमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपिएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो ।
कास्य पदकका लागि आज नै भएको प्रतिस्पर्धामा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट २६–२४ ले प्रतिस्पर्धात्मक बने पनि दोस्रो र तेस्रो सेटमा भने गण्डकीको खेल खस्कियो ।
पुलिसले दोस्रो र तेस्रो सेट क्रमशः २५–१४ र २५–१८ ले आफ्नो पक्षमा पारेर कास्य हात पा¥यो । भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी थिए ।