जुम्लामा निर्वाचनसम्बन्धी अभिमुखीकरण   
     जुम्लामा निर्वाचनसम्बन्धी अभिमुखीकरण   

जिल्लाको शान्तिसुरक्षा कायम गर्ने प्रशासनको प्रमुख जिम्मेवारी रहेको प्रशासनले जनाएको छ ।    

    • बेल संचार

    • २३ कार्तिक २०७९, बुधबार

जुम्ला, 
यहाँका क्रियाशील पत्रकारका लागि आयोजित निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजना तथा राष्ट्रिय समाचार समिति (रासस)को सहकार्य र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको समन्वयमा जिल्लास्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि राज्यका सबै निकायको महत्वपूर्ण भूमिका हुने भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

जिल्लाका ६० वडामै महिला स्वास्थ्य स्वयम्सेविकाबाट मतदाता शिक्षा कार्यक्रम लागू भई सञ्चालनमा आएको जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । जिल्लाको शान्तिसुरक्षा कायम गर्ने प्रशासनको प्रमुख जिम्मेवारी रहेको प्रशासनले जनाएको छ ।

मुख्य निर्वाचन कार्यालयका प्रमुख विष्णुप्रसाद गौतमले निर्वाचनको अवधिभर नागरिकलाई निर्वाचनका सही सूचना दिन पत्रकारको अहम् भूमिका रहेको बताउनुभयो । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णपालना गर्नु सबैको काम भएकाले आचारसंहिता पालना नगर्नेलाई आयोगले कानुनअनुसार कार्वाही गरिने मुख्य निर्वाचन प्रमुख गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्र र मतदानस्थलमा कर्मचारी खटाउन बाँकी रहेको बताइएको छ ।

जिल्लामा कुल एक सय छ मतदान केन्द्र, ८३ मतदानस्थल र दुई अस्थायी मतदानस्थल कायम गरिएको छ । जिल्लामा कुल ६८ हजार छ सय ३८ मतदाता रहेको निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले बताउनुभयो । एक मात्र प्रतिनिधिसभा रहेको जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ३६ हजार सात सय ८३ र प्रदेशसभा क्षेत्र नं २ मा ३१ हजार आठ सय ५५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको समयावधिभर पत्रकारले गर्नुपर्ने काम र कर्तव्यका बारेमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी गराउनुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित