काठमाडौँ,
नेकपा एमालेबाट काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधीसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले काठमाडौँ क्षेत्र नं ६ मा चक्रपथ निर्माण गर्ने प्रतिवद्धता गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ६ लाई नमूना क्षेत्र बनाउने उद्घोषका साथ निर्वाचनमा होमिनुभएका पूर्व प्रहरी प्रमुख खनालले काठमाडौँ क्षेत्र नं ६ भित्र पर्ने सबै सडकहरु स्तरोन्नती, मर्मत, सौन्दर्यकरण र पैदलयात्रीमैत्री बनाउने बताउनुभएको छ ।
उहाँले काठमाडौँ क्षेत्र नं ६ भित्र पर्ने सबै सडकमा साइकल लेन मैत्री तुल्याउन सम्भाव्यता अध्ययन गरी काम गर्ने, सार्वजनिक यातायात सर्वसुलभ, यात्रुमुखी, प्रभावकारी, आधुनिकीकरण र सुरक्षित बनाउन आवश्यक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
निर्माणाधीन पार्कलाई पुरा गर्ने, बढ्दो शहरीकरणबीच खुला सार्वजनिक पार्क अति आवश्यक पर्ने हुँदा सम्भाव्यता अध्ययन गरी पार्क विस्तार गरिने उहाँको योजना रहेको छ । काठमाडौँ क्षेत्र नं ६ मा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९, १० र ११ साथै तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् ।
काठमाडौँको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार १०२ मतदाता छन् ।