नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसलाई पनि मन्त्री बनाउँछु भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हिँडेको बताएका छन्।
आज कालिकोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अव्यवहारिक कुरा गर्दै प्रचण्ड हिँडेको आरोप लगाए।
‘कतिजना मानिसहरू जहाँ पुग्यो त्यहीँको मानिसलाई मन्त्री बनाउँछु भनिरहेका छन्। हरिबहादुर भेटियो उसलाई मन्त्री बनाउँछु। रामबहादुर भेटियो उसलाई मन्त्री बनाउँछु… शान्तिदेवी देखियो मन्त्री बनाउँछु, क्रान्तिदेवी देखियो मन्त्री बनाउँछु,’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘यस्तो खालको अव्यवहारिक र अनुचित तरिका हो।’
दुर्गम ठाउँबाट जिताएका व्यक्तिलाई मन्त्री बनाउने स्वभाविक भएको ओलीले बताए। ‘मैले मन्त्री दिन्छु भन्ने झुट कुरा हो। जहाँको भाषण पनि मन्त्री बनाउँछु भन्ने मैले सुने,’ उनले भने, ‘जहाँका पनि मन्त्री बनाउँछु भन्ने? १६५ जना मन्त्री बनाउने?’
उनले सत्ता गठबन्धनले एउटा साझा घोषणा पत्र बनाउन नसकेको पनि बताए। ‘कुन घोषणा पत्र लागु हुन्छ?’ ओलीले प्रश्न गरे, ‘यो जनता अल्मल्याउने कुरा हो।’