काठमाडौँ
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने बताएका छन् ।आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति माविको मतदान केन्द्रबाट मतदान गर्दै उनले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गरे ।
अध्यक्ष ओलीले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरुसँग मिलेर सरकार बनाउने बताए । उनले केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले नेकपा एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरुको सरकार बन्ने बताए ।
अध्यक्ष ओलीले अप्रिय घटना भएका ठाउँमा निर्वाचन सुसम्पन्न हुन नसके पुन: मतदान गर्नुपर्ने बताए । उनले शान्तिपूर्ण रुपमा, निर्वाध रुपमा निर्वाचन सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । उनले नयाँ दलहरु राष्ट्रिय पार्टी बन्ने अवस्था नरहेको बताए ।
अध्यक्ष ओलीले भने,‘जनतालाई आम निर्वाचनमा सहभागि हुन आग्रह गर्दछु । म अहिले यत्ति भन्छु, मनपरेको पाटीमा उम्मेदवारलाई भोट हाल्न र मताधिकार प्रयोग गर्न आग्रह गर्दछु ।
निर्वाचनपछि एमालेले बहुमत ल्याउनेमा म विश्वस्त छु । मंसिर १५ गतेसम्म एमालेको बहुमतको सरकार बन्छ, यदी भएन भने साझेदार गरेका दलहरुसँग सरकारमा सामेल हुन्छौं । निर्वाचनको कार्य भइरहँदा विभिन्न स्थानमा अप्रिय घटना भएका छन्, त्यसमा हाम्रो चासो रहेको छ ।
निर्वाचनको समयमा विभिन्न प्रकारका शक्ति लागेको तथा निर्वाचनको गरिमा बिगार्ने तथा युवालाई आवेगमा ल्याउन खोजिएको छ । छिटफुट अप्रिय घटना भएपनि आम रुपमा राम्रो तरिकाले निर्वाचन भएको छ । साथै अप्रिय घटना भएका ठाउामा मतदान दोहोर्याएर गर्नुपर्ने हुन्छ ।’