त्रिशूली, १० मङ्सिर
नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङ विजयी हुनुभएको छ । सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रहनुभएका तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो । यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको ६३ हजार तीन सय ७९ मतको आज बिहान सम्पन्न गणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मतान्तरले विजयी हुनुभएको हो ।
पूर्वमन्त्रीसमेत रहनुभएका तामाङ यसअघि विसं २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो । उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा प्रद्युम्न महतले छ हजार एक सय १३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदर्शन सिटौलाले एक हजार छ सय ११ मत प्राप्त गर्नुभयो । चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित १७ उम्मेदवार भए पनि अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको निर्वाचन अधिकृत भुसालले जानकारी दिनुभयो ।