गगन थापामा सर्वसम्मति नभए संसदीय दलमा निर्वाचन हुन्छ: विश्वप्रकाश शर्मा
गगन थापामा सर्वसम्मति नभए संसदीय दलमा निर्वाचन हुन्छ: विश्वप्रकाश शर्मा
    • Bell Sanchar

    • १४ मंसिर २०७९, बुधबार

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। पहिलो पटक सांसद निर्वाचित भएका शर्माले कांग्रेस संसदीय दलको नेतामा अर्का महामन्त्री गगन थापालाई समर्थन गर्ने बताइसकेका छन्।

संसदीय चुनावको परिणाम, कांग्रेस संसदीय दलको चुनावलगायत समसामयिक राजनीतिक विषयमा सेतोपाटीकी शोभा शर्माले कांग्रेस महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधि सभा विश्वप्रकाश शर्मासँग कुराकानी गरेकी छन्। कुराकानीको सम्पादित अंश:

यो चुनाव नेपाली कांग्रेसका लागि कस्तो भयो?

गणितीय हिसाबले भन्ने हो भने यो चुनावले हाम्रो पार्टीलाई २०७४ को तुलनामा ठूलो आकारमा लग्यो। त्यसका साथै नेपाली कांग्रेसको सोच र दृष्टिकोणकै वरिपरि मुलुकको राजनीति आउँदै गरेको परिस्थिति पनि दरिलो रूपमा विकसित भइरहेको छ। तर कांग्रेसले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने पनि देखियो। केही घटनाक्रमबाट र केही हाम्रै कमजोरीबाट शिक्षा लिनुपर्ने पनि देखियो।

प्रत्यक्ष र समानुपातिक तर्फको मतपरिणामसँग तपाईं सन्तुष्ट हो कि होइन?

समग्रतामा यसको दुई-तीन वटा पाटो छ। एउटा हाम्रो नेतृत्वमा सबै पार्टीको सहभागितामा बनेको संविधान यो निर्वाचनले झनै बलियो बनायो। संविधानप्रति अस्वीकारोक्ति राख्नेहरू पनि त्यसभित्रै समाविष्ट भई रहेर अघि बढ्ने अवस्था निर्वाचनले बनाएको छ। चुनाव भनेको लोकतन्त्रलाई जनतामाझ लिएर गएर अझै बलियो बनाउने भन्ने विषय पनि हो। यसो भन्दै गर्दा गणितीय रूपमा नेपाली कांग्रेस पार्टीले एक्लै उभिएर राम्रो बहुमत लिएरै आउनु पर्ने हो भन्ने आम समाजको बुझाइ छ। त्यो अवस्थामा अहिलेको कांग्रेसको आकारले चित्त बुझ्नु भनेको भोलि पार्टीलाई विस्तार गर्ने आकारको खोजी नहुनु हो। त्यसकारण अहिलेको परिणाममा चित्त बुझाउने सन्तुष्ट हुने ठाउँ छैन।

समानुपातिकमा नेपाली कांग्रेसको मत यसअघि ३२ प्रतिशतमा थियो। अहिले कांग्रेलाई २५ प्रतिशत मत आइरहेको छ। एमालेको मत बढिरहेको देखिन्छ। कांग्रेस भने खस्किँदै गएको छ। किन यसरी किन खस्कियो?

यसमा एकढंगको चर्चा भई नै राखेको छ। यसका पछिल्तिर के नकारात्मक कारण थिए, के नकारात्मक सन्देशहरू गएका थिए भन्ने बारे चर्चा-परिचर्चा आइरहेको छ। मैले तिनलाई सार्वजनिक रूपमा विस्तार गर्न चाहन्नँ।

मतदाताले नेपाली कांग्रेसलाई स्नेह गर्न चाहेको, गरिआएको, हामीलाई हरेक कालखण्डमा नेतृत्वमा पुर्‍याएको, जे भए पनि अन्तत: नेतृत्व त कांग्रेसकै चाहिन्छ भनिरहेको तर पार्टीका तर्फबाट मतदाताको यस्तो सोचाइलाई उचित ‘रेस्पोन्स’ नभएकाले अहिलेको परिणाम आएको हो भन्ने मलाई लाग्छ। हाम्रा कतिपय कर्महरूका कारण, हाम्रा कतिपय बुझाइहरूका कारण पनि मत घट्यो। मतदाताले हाम्रा कर्म र बुझाइलाई रूचाएनन्। जनताले हामीलाई अलि फरक कोणबाट हेर्न खोज्दै थिए, हाम्रा छनोट, प्रस्तुति, हाम्रा उम्मेदवारी चयन, हाम्रा समानुपातिक सूचीमा रहेका उम्मेदवारबारे  वा प्रत्यक्षमा उठेका उम्मेदवारबारे उनीहरूले जे चाहन्थे, त्यस्तो हुन सकेन। त्यसैले जनताले स्वतन्त्र ढंगले विश्लेषण गरेर कांग्रेससँग रूष्टता व्यक्त गरे। जसले हाम्रो आकार खस्किएको, घटेको छ।

कांग्रेसका काम जनताले मन पराएनन् भन्नुभयो,  उदाहरणसहित बताइदिनुहोस् न!

मैले यसबारे विस्तारित रूपमा सार्वजनिक टीका-टिप्पणी गर्नु हुँदैन। म महामन्त्री पनि भएकाले आफैं निर्णय गर्ने ठाउँमा छु। त्यसैले मैले पार्टीभित्रै आन्तरिक छलफलमा समीक्षा गर्नुपर्छ भन्ने ठान्छु। महामन्त्री भएका नाताले म समग्रमा जे राम्रो भएको छ त्यसको हकदार र नराम्रो कुराको अंशियार हुनुपर्छ। जो उम्मेदवार छानिए, तिनका गुण दोषको भागिदार महामन्त्री हुन्छन्। हिजोका निर्णयको आन्तरिक समीक्षा नगरी सार्वजनिक टीका-टिप्पणी गर्नु हुँदैन। जे होस् हामीले गम्भीर आत्मसमीक्षा भने गर्नुपर्ने छ।

यो चुनावबाट भएको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले के भन्छ? कांग्रेसलाई त्यसको सन्देश के हो?

संसारभरिको मानव जातीले बुझ्नु पर्ने दुई वटा सत्य छ: एउटा मृत्यु र अर्को परिवर्तन। यी निश्चित हुन्छन्। व्यवस्था बदल्ने कर्मको हामीले नेतृत्व गरेका थियौं त्यसैले मतदाताले विश्वास गर्ने एउटा चरण हुन्छ। अब नागरिकले व्यवस्था बदल्नु छैन, यसलाई स्वीकार गरेर सबै यसको अंश बनेको अवस्था छ। अब चुनावमा कुनै न कुनै दलबाट उम्मेदवार बन्नु, नयाँ पार्टी खोलेर उम्मेदवार बन्नु, वा स्वतन्त्र उम्मेदवार बन्नुले आखिरमा यही दलीय व्यवस्थालाई बलियो बनाउँदै छ।

दोस्रो, दलीय पद्धतिमा पुराना ठूला दलबाहेक  एक्कासी नै कोही नयाँ दल उदाएर आउँछ भने लोकतन्त्रमा त्यसलाई स्वागत गर्नुपर्छ। त्यसले सकारात्मक रूपमा के सन्देश दिन्छ, सकारात्मक रूपमा के दबाब दिन्छ, सकारात्मक रूपले केका लागि प्रेरित गर्छ भेर हेर्ने हो भने एउटै उत्तर हुन्छ- रूपान्तरणका लागि। परिवर्तन मुख्य सत्य हो जुन अघि मैले भनें। त्यसैअनुसार कांग्रेसले कांग्रेसको रूपान्तरण गर्नुपर्‍यो, एमालेले एमालेको रूपान्तरण गर्नुपर्‍यो। दलहरूले आफ्नो कार्यशैलीको रूपान्तरण गर्नुपर्‍यो। नेतृत्वको छविको रूपान्तरण हुनुपर्‍यो। छवि रूपान्तरण हुँदै गर्दा त्यसभित्रको छवि र गुणको रूपान्तरण। सरकारमा बसेर काम गर्ने मन्त्रीहरूको काम गर्ने शैलीमा रूपान्तरण। डेलिभरी गर्ने क्षमताको रूपान्तरण। यी सबै कुराको रूपान्तरणका लागि यो चुनावले सबैलाई सन्देश दिएको छ। मैले पार्टीको महामन्त्री बन्दै गर्दा पनि भनेको विषय थियो- हिजो राजनीतिक परिवर्तन आज राजनीतिमा परिवर्तन। अहिले निर्वाचनको परिणामले राजनीतिमा परिवर्तनलाई सकारात्मक ढंगको बल दिएको छ।

तपाईंले आफैं अब राजनीतिमा परिवर्तन गर्नुपर्छ भन्ने गर्नुहुन्छ। मतदाताले पनि कांग्रेस पुरानो भयो, कांग्रेसको नेतृत्व र यही सोचले अब काम गर्दैन भन्ठानेर नयाँ दलतिर भोट दिएको देखियो। मतदाताका साथै नयाँ पुस्ता अथवा अन्य क्षेत्रमा काम गरेर अनुभव बटुलेका नयाँ अनुहारलाई आकर्षित गर्न तपाईंहरूले के गर्नुहुन्छ?

संगठन र शासन दुबैमा रूपान्तरणको जरूरी छ। पार्टी सुधारको विषय संगठनको आन्तरिक घरेलु जीवनको विषय भयो। त्यसलाई सम्बोधन गर्न/गराउनलाई नै विश्वप्रकाश र गगन थापाहरूलाई पार्टीका महाधिवेशन प्रतिनिधिले चयन गर्नुभएको हो। संगठनको रूपान्तरणको सोझो प्रभाव शासनको रूपान्तरणमा पर्छ। शासनको सोच र शैलीको प्रभाव मतदाताले सिष्टमलाई हेर्ने कुराका प्रति आकर्षण र विकर्षणमा सोझै देखिन्छ। नागरिकलाई कम्तीमा हामीचाहिँ सही मार्गमा जाँदै छौं, नेपाल बन्दै छ, यी दलहरूले गर्न सक्छन् अथवा कम्तीमा बिग्रिने क्रम रोकियो र सुधार क्रमश: सुरू भयो भन्ने कुरा लाग्यो भने उनीहरूको आकर्षण बढ्दै जान्छ। त्यसैले संगठन र शासन दुबैमा रूपान्तरण जरूरी छ। हामीले त्यसलाई सम्बोधन गरेर जाँदैछौं।

मैले महामन्त्री हुँदा राखेको रूपान्तरणको प्रस्तावमा राजनीतिबाट बाहिर रहेका व्यक्तिहरू पनि राष्ट्र निर्माणको लागि संसारको कुनै पनि कुनाबाट ल्याउन सकिने बनाउनु पर्छ भन्ने पनि एउटा बुँदा थियो। चुनावैबाट ल्याउन पर्छ भन्ने छैन, राष्ट्र निर्माणको प्रक्रियामा भने उनीहरूको कुशल कालिगढी क्षमता ल्याउन सक्ने सोचमा जानुपर्छ भनेर मैले लेखेको छु। यो कुरालाई खोज्नु भयो भने नेपाली कांग्रेसको घोषणापत्रमा पनि देख्नुहुन्छ। राजनीतिको मूलधारबाट बाहिर रहेका तर राष्ट्र निर्माणका लागि सुयोग्य मस्तिष्क भएका, कुशल कालिगढी क्षमता भएका व्यक्तिलाई ल्याउन संवैधानिक बन्दोबस्त र राजनीतिक वातावरण निर्माण गर्नुपर्छ भन्ने घोषणापत्रमै लेखिएको छ। अब हामी त्यो कुरालाई व्यवहारमा बढावा दिएर जान्छौं। यस्तो भयो भने दल त हुन्छ नै देश नै लाभान्वित हुन्छ।

तपाईंले अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्नुभएपछि धेरैले तारिफ गरिरहेका छन्। तपाईंले चाहिँ पार्टी सभापति आफू बन्नका लागि थापालाई प्रधानमन्त्रीका रूपमा अघि सार्नुभएको हो भन्ने पनि छ नि?

योचाहिँ बिल्कुलै गलत हो। कसैले कसैलाई केही कुरामा समर्थन गरे पक्कै पनि उसले अर्को केही पद लिने जेन्टलमेन्ट अग्रिमेन्ट हुने पहिला पहिलाको राजनीतिक चलन हो। विश्वप्रकाश बिल्कुलै फरक प्रकृति मान्छे हो। राजनीतिमा जहिले पनि म योग्य, मैले नै पाउनुपर्छ, म नै हुनुपर्छ, म नै बन्नुपर्छ भन्ने जुन चलन छ राजनीतिमा रूपान्तरणको एजेन्डा उठाएको विश्वप्रकाशले त्यसलाई पनि फेरिदियो। उसले भन्यो, म होइन गगन थापा भन्यो। मभन्दा बढी उसले बुझेको छ, मभन्दा बढी उ अनुभवी छ भनेको हो।

अब अहिले सभापतिको कुरा किन आउँदैन भने महाधिवेशन भएको एक वर्ष भयो। अर्को महाधिवेशन आउन तीन-चार वर्ष लाग्छ। त्यसका लागि अहिलेलाई के हो भने अघिल्तिर खोला छ त्यही खोला तर्न पर्‍यो।  खोला तर्ने बेला कसरी तर्ने नभनेर तरिसकेपछि अगाडिको पहाड कसरी उक्लिने भन्ने चर्चा गर्न थालियो भने खोला तरिँदैन, डुबिन्छ। त्यसैले मेरो भनाइ के छ भने अहिले देशको नेतृत्व बदल्ने हो। प्रधानमन्त्री पदका लागि पछिल्लो पुस्ताले नेतृत्व गर्न सक्छ भन्ने विश्वास जागृत गराउने हो।  म संसदमा पहिलो पटक पुग्दै गरेको मान्छेसँग अनुभव छैन, त्यो प्रकारको दक्षता छैन भन्ने लाग्छ। क्षमता नराखौंला भन्ने होइन संगठन कमाण्ड गरेर आएको मान्छे हुँ। तर अहिले प्रधानमन्त्रीका लागि चाहिने अनुभव छैन, त्यसैले अब को त भन्दा मेरो सँगैको साथी गगन थापाले गर्न सक्छन् भनेर मैले प्रस्ताव गरेको हुँ। अब त्यसरी प्रस्ताव गर्दै गर्दा एक वचन, चिया गफमा मात्र पनि अबको महाधिवेशनमा विश्वप्रकाश सभापति बन्ने भन्ने कुरा भएको छैन। अहिले खोला तर्ने बेला खोलैको कुरा गरौं, पछि डाँडा उक्लिने बेला कसरी उक्लिने कुरा गरौंला।

गगन थापालाई प्रधानमन्त्रीमा प्रस्ताव त गर्नुभयो तर भोलि संसदीय दलमा उहाँको बहुमत पुग्छ त? सभापति देउवा आफैं प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ। उहाँले संसदको टिकट बाँड्दा नै आफू बलियो हुने गरी बाँड्नुभएको भन्ने छ। अरू पनि आकांक्षी देखिन्छन्। कत्तिको सहज छ?

पहिला त मैदानमा जानुपर्‍यो। विश्वकप खेल्न आएका सबै टिमले जित्छु भनेरै आएका हुन्छन् नि। अहिले हाम्रो संसदीय दलमा पनि धेरै जना मैदानमा उत्रिने देखिएको छ। अन्तिममा परिणाम के हासिल हुन्छ भन्ने हेर्न केही पर्खौं। हामीले राम्रो खालको वातावरण बनाउने छौं।

तपाईंले गगन थापालाई संसदीय दलको नेता बनाउने प्रस्ताव त गर्नुभयो। तयारी के छ? पार्टीका सांसद र नेताहरूसँग छलफल गर्नुभयो कि छैन?

हामीले देशभरिबाट निर्वाचन जितेर आएका साथीहरूसँग सम्पर्क गरिरहेका छौं। गणितीय रूपमा विश्लेषण पनि गरिरहेका छौं। संसदीय दलमा शेरबहादुर देउवाले, रामचन्द्र पौडेलले, प्रकाशमान सिंहले, शेखर कोइरालाले दाबी गरिरहनुभएको छ। तर अन्तिममा उहाँहरूबीच समझदारी बन्नेछ र पछिल्लो पुस्तालाई देश जिम्मा लगाउनुपर्छ भनेर आफ्ना दाबी छोड्नुहुने छ भन्ने लाग्छ मलाई। उहाँहरूमध्ये कोही आफैं प्रस्तावक बन्नु हुनेछ मेरो आश छ।

अग्रज नेताहरूसँग कुरा गर्नुभएको छ कि छैन त?

अहिले चुनावको परिणाम आउँदैछ। यो सकिनै हप्ता-दश दिन लाग्ला। त्यसपछि हामी सबैसँग यो छलफल अझ तीव्र बनाएर जान्छौं। अधिकतम् सम्भावना के हो भने हामी सर्वसम्मतिमै संसदीय दलको नेताको टुंगोमा पुग्ने छौं। त्यो सर्वसम्मति हुँदा युवाले नेतृत्व गर्ने गरी नै हुनेछ। सर्वसम्मति हुन नसके प्रतिस्पर्धा हुनेछ, त्यतिखेर गगन थापालाई दलको नेता बनाउन विश्वप्रकाश उभिने छ।

सेतोपाटी 

साताकाे चर्चित
सम्बन्धित