छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल     
     छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल     
    • बेल संचार

    • २० मंसिर २०७९, मंगलवार

बेदकोट, 
कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै गएको छ । पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो । स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि समस्या समाधान हुन नसकेको भीमदत्त नगरपालिका निवासी हरिभान भट्टले बताउनुभयो ।

“छाडा चौपायामा स्थानीय तहले धेरै पैसा खर्चिएका छन्, तर अझै समस्या समाधान हुनसकेको छैन”, उहाँले भन्नुभयो, “छाडा चौपाया राख्न कान्जीहाउस (गौशाला) बनाइयो तर अहिले उपयोगविहीन छन् ।”

यस्ता चौपायाको समस्या समाधान नहुँदा स्थानीय चिन्तित बनेका छन् । बेदकोट नगरपालिकामा छाडा चौपायाको समस्या समाधान नभएको जनाउँदै सडकका चौपाया सङ्कलन गरेर स्थानीयवासीले नगरपालिका परिसरमा थुनेका छन् ।

नगरपालिकालाई छाडा चौपायाको समस्या समाधानका लागि दबाब दिन चौपाया नगरपालिकामा थुनिएको कमला चौधरीले बताउनुभयो । “नगरपालिकालाई पटक–पटक छाडा चौपायाको व्यवस्थापनका लागि भन्यौँ, तर केही चासो देखाएन”, उहाँले भन्नुभयो, “माग सम्बोधनका लागि दबाब दिन चौपाया नगरपालिकाको कार्यालयमा हुलेका हौँ ।”

छाडा चौपाया नगरपालिका परिसरमा तीन दिनदेखि राखिएका छन् । समस्या समाधान नहुञ्जेसम्म नगरपालिकामा चौपाया थुनिने उहाँले बताउनुभयो । चाहिञ्जेल पाल्ने र पछि छाड्ने प्रवृत्तिले छाडा चौपायाको समस्या समाधान हुन नसकेको पशु संरक्षणकर्मी बताउँछन् । पछिल्लो समय पशुप्रति मानवका व्यवहार ‘क्रूर’ हुन थालेको पशु संरक्षणमा सक्रिय हरिशरण महाराजले बताउनुभयो ।

“दूध दिने बेलासम्म गाई बाँध्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती थपिएको छ”, उहाँले भन्नुभयो । पशुलाई धर्ममा पूजा गर्ने तर मनमा नमान्ने प्रवृत्ति मौलाउँदा पशु संरक्षण हुन नसकेका उहाँको भनाइ छ । “तिहारमा पूजा गरिने गाईप्रति समेत मानवीय व्यवहार भएको छैन, सरकारले पनि पशु व्यवस्थापनमा ध्यान दिन सकेको छैन”, उहाँले भन्नुभयो ।

छाडा चौपाया व्यवस्थापन हुन नसक्दा पूर्वपश्चिम राजमार्ग, बजार क्षेत्रभर नै पशु चौपायाको समस्या जस्ताको त्यस्तै छ । भीमदत्तले रु ५० लाख खर्चेर निर्माण गरेका कान्जिहाउसमा एउटा पनि पशु चौपाया छैनन् । जग्गा भाडामा लिएर बनाएको गौशाला जीर्ण बन्दै गएको स्थानीय राधेश्वर धामीले बताउनुभयो ।

पश्चिम गड्डाचौकीबाट सुकासाल, वनगाउँ, बसपार्क, सुडा लालपुर, सिसैया, दैजी, गुलरिया, कृष्णपुरसम्म जताततै छाडा चौपाया देखिन्छन् । राजमार्गमा छाडा पशुका कारण दुर्घटनाको खतरा पनि बढेको छ । छाडा चौपायाका कारण यात्रुले राजमार्गमा सास्ती खेप्नुपरेको छ । छाडा चौपायाले खेतमा लगाएका बाली सखाप गर्ने गरेको बेदकोट–९ की काजल साउदले बताउनुभयो । “चौपायाले खेतमा लगाएको बाली खाएर सखाप पार्छ”, उहाँले भन्नुभयो, “छाडा चौपायाले हैरान भएका छौँ, यसको समाधान गर्नु जरुरी छ ।”

बेदकोट नगरप्रमुख भोजराज बोहराले छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढेको बताउनुभयो । “चुने पानीमा चौपायाका लागि टहरा बनाइएको छ, वडा नंं ४ मा पनि जग्गा भाडामा लिएर व्यवस्थापनको काम अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “दुई महिनाभित्र सडकका चौपायालाई त्यहाँ व्यवस्थापन गर्ने गरेर तत्कालीन र दीर्घकालीन योजना अगाडि बढाएका छौँ ।”

पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिकामा छाडा चौपायाको समस्या छ । शुक्लाफाँटा नगरपालिकाका छाडा चौपायालाई वडा नं ९ स्थित बनाइएको गौशालामा राख्ने गरिएको नगरप्रमुख रणबहादुर महराले बताउनुभयो ।

छाडा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले काम तीव्ररूपमा अगाडि बढाएको नगरप्रमुख हेमराज ओझाले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको प्रत्येक वडामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गरिरहेको छ ।

“छाडा चौपाया र घरमै पालिएका गाईलाई फरक–फरक रङको ट्याग लगाउने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “यसले घरमै पालिएका गाई र बाह्य क्षेत्रमा छाडिएका गाईको पहिचान गर्न सहज हुन्छ, गाई–गोरु छाडारूपमा छाड्ने व्यक्तिको पहिचान हुन्छ, अनि नगरपालिकाको प्रचलित कानुनअनुसार कारबाही गर्न सकिन्छ ।”

छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले घाँस, चारो, पानी र हेरालाको व्यवस्था गर्न योजना बनाएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले चालु आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनका लागि रु ४० लाख बजेटको व्यवस्था गरेको छ ।
–––

साताकाे चर्चित
सम्बन्धित