अमेरिका र रूसले गरेको चर्चित खेलाडी र खुङ्खार हतियार व्यापारीको सट्टापट्टा
अमेरिका र रूसले गरेको चर्चित खेलाडी र खुङ्खार हतियार व्यापारीको सट्टापट्टा

त्यसको एक सातापछि रूसले युक्रेनमाथि आक्रमण गर्‍यो।

    • Bell Sanchar

    • २३ मंसिर २०७९, शुक्रबार

१० महिनाअघि फेब्रुअरी तेस्रो साता अमेरिकाकी चर्चित बास्केटबल खेलाडी ब्रिटनी ग्रिनर रूसको मस्कोस्थित सेरेमेत्येभो विमानस्थल पुगेकी थिइन्। बास्केटबलको युरोलिग खेल्न उनी त्यहाँ गएकी थिइन्। अमेरिकामा अफ सिजन भएका बेला उनी आकर्षक कमाइ हुने भएकाले युरोलिग खेल्न पुगेकी थिइन्।

तर उनी विमानस्थलबाट बाहिर निस्किन पाइनन्। रूसी अधिकारीहरूले उनको लगेजमा भाङको तेल भेटिएको भन्दै हिरासतमा लिए।

त्यसको एक सातापछि रूसले युक्रेनमाथि आक्रमण गर्‍यो। रूस र अमेरिकाको सम्बन्ध निकै चिसियो।

युक्रेनमाथिको आक्रमणले अमेरिकासँग तिक्तता झन् बढिरहेका बेला रूसले ब्रिटनीको मुद्दामा प्रक्रिया अघि बढायो। लागुऔषध मुद्दामा उनलाई दोषी ठहर्‍याउँदै उनलाई ९ वर्षको कैद सजाय सुनायो। गत महिना उनलाई मस्कोदेखि झन्डै पाँच सय किलोमिटर टाढाको पेनल कोलोनीमा जेल पठाइयो।

प्रतिभावान् युवा खेलाडीलाई रूसले हिरासतमा लिएपछि अमेरिकामा उनलाई फिर्ता ल्याउनु पर्ने चर्को माग थियो। राष्ट्रपति जो बाइडेन प्रशासनले उनलाई फिर्ता ल्याउनका लागि रूसी अधिकारीहरूसँग वार्ता सुरू गर्‍यो।

अमेरिका र रूसबीच यसअघि पनि एक-अर्काको देशमा पक्राउ परेका नागरिक सट्टापट्टा गर्ने  काम भइरहेको थियो। त्यसका लागि लामो नेगोसिएसन चल्थ्यो।

अहिले पनि रूसी जेलमा विभिन्न आरोपमा पक्राउ परेका अमेरिकाका अरू नागरिक पनि छन् तर बाइडेन प्रशासनको प्राथमिकतामा ग्रिनर थिइन्।

रूसी अधिकारीहरूले ग्रिनरलाई रूसी जेलबाट मुक्त गरेर अमेरिका पठाउने हो भने आफ्ना नागरिक भिक्टर बुटलाई अमेरिकाले रिहा गर्नुपर्ने बताए।

५५ वर्षका बुट रूसका खुङ्खार हतियार व्यापारी हुन्। १८ वर्षको हुँदा उनी रूसी सैनिकमा भर्ना भएका थिए। पछि सेनाको जागिर छोडेर उनले सिपिङ कम्पनी खोलेका थिए। त्यहीबाट उनले हतियारको कारोबार सुरू गरेका हुन्। उनले अलकायदासहित संसारका विभिन्न हतियारधारी समूहलाई हतियार बेच्ने गरेका थिए। उनी यति खुङ्खार हतियार व्यापारी थिए कि उनलाई ‘मृत्युका कारोबारी’ उपनामले चिनिन्थ्यो। सन् २००५ मा बनेको हलिउड सिनेमा ‘लर्ड अफ वार’उनको जीवनीमा आधारित थियो।

अमेरिकी नागरिकको हत्या योजना बनाइरहेको आरोपमा सन् २००८ मा उनलाई थाइल्यान्डको राजधानी बैंककबाट पक्राउ गरिएको थियो। दुई वर्षपछि थाई अधिकारीहरूले उनलाई अमेरिका सुपुर्दुगी गरेका थिए।

अमेरिकामा उनलाई विभिन्न मुद्दामा २५ वर्ष कैद सजाय सुनाइएको थियो। रूसी संस्थापनसँग निकट सम्बन्ध रहेका बुट भने त्यतिबेला नै आफू २५ वर्षसम्म अमेरिकी जेलमा नरहनेमा ढुक्क जस्ता देखिन्थे। सन् २०११ मा उनलाई अमेरिकी अदालतले दोषी ठहर गरेपछि उनका वकिलले भनेका थिए- यो नै अन्त्य होइन भन्नेमा उनी विश्वस्त छन्।

नभन्दै त्यस्तै भयो। बुट पक्राउ परेदेखि नै रूसी अधिकारीहरूले उनको रिहाइका लागि अमेरिकालाई निरन्तर  दबाब दिइरहेका थिए। उनको रिहाइको सौदाबाजी गर्न नै रूसले ग्रिनरलाई पक्रेको देखिन्छ।

सुरूमा अमेरिकाले बुटको बदलामा रूसले ग्रिनरसहित पूर्वजल सैनिक पल ह्वेलनलाई पनि रूसी जेलबाट छोड्नु पर्ने सर्त राखेको थियो। जासुसीको आरोपमा पक्राउ परेका ह्वेलन सन् २०१८ देखि रूसी जेलमा छन्।

रूस अधिकारीहरूले अमेरिकाको उक्त सर्त मानेनन्।  बाइडेन प्रशासन आफ्नी चर्चित बास्केटबल खेलाडीलाई फिर्ता ल्याउन खुङ्खार हतियार कारोबारी रूसलाई सुम्पिन बाध्य भयो।

बिहीबार वासिङ्टनबाट एउटा जहाज बुटलाई बोकेर युनाइटेड अरब इमिरेट्सको आबुधावी विमानस्थलमा आइपुग्यो। त्यहीबेला मस्कोबाट ग्रिनरलाई ल्याएर अर्को जहाज आइपुग्यो।

आबुधावी विमानस्थलमा ग्रिनर र बुटलाई युएईका अधिकारीहरूले स्वागत गरेको र उनीहरूलाई आ-आफ्ना देशका अधिकारीहरूले सँगै लिएर गएको भिडिओ सार्वजनिक भएको छ।

उनीहरूलाई त्यहाँबाट सम्बन्धित देशका अधिकारीहरूले आफ्नो देश लिएर गएका छन्।

(द न्युयोर्क टाइम्स, बिबिसीलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।)

साताकाे चर्चित
सम्बन्धित