विद्यालयको प्राथमिकतामा सरसफाइ अनिवार्य   
     विद्यालयको प्राथमिकतामा सरसफाइ अनिवार्य   

सानो कक्षाका भाइबहिनी पनि हात धोएर मात्र खाजा खान्छन् ।”   

    • बेल संचार

    • २९ मंसिर २०७९, बिहीबार

बझाङ,
वित्थडचिर गाउँपालिका–१ स्थित केदार माविमा विद्यार्थीको सङ्ख्या आठ सयभन्दा बढी छ । बैतडी र बझाङका विद्यार्थी पढ्ने सो विद्यालयमा सरसफाइका लागि भने हम्मेहम्मे पर्छ । पानीको दुवै धारा भएको विद्यालयमा पिउनेदेखि दिवा खाजा पकाउने र शौचालयमा लिनसमेत निकै अपर्याप्त छ । तर कक्षाकोठामा अलि ढिलो भए पनि सरसफाइ भने अनिवार्य नै छ ।

सिँगास गाउँपालिका–९ बैतडीका पदम बोहरा केदार माविमा ८ कक्षामा पढ्नुहुन्छ । उहाँ आएदेखि विद्यालयमा अन्य सिकाइभन्दा सरसफाइ प्राथमिकतामा छ । “हामी कक्षाकोठामा दुई मिनेट ढिलाइ पुगे पनि शौचालय प्रयोगपछि हात नधोएर जाँदैनौँ”, उहाँले भन्नुभयो, “हामी त ठूलो कक्षामा पुगिसक्यौँ । सानो कक्षाका भाइबहिनी पनि हात धोएर मात्र खाजा खान्छन् ।”

उहाँका अनुसार सङ्घसंस्थाका लगानीमा खानीपानीका धारा, फोहर फाल्ने खाल्डा, शौचालय, विद्यालय भवन निर्माण भए विद्यार्थीलाई सरसफाइमा कमी भएको छैन । कहिलेकाहीँ त विद्यालयले नै सरसफाई कार्यक्रम नै गर्ने गरेको उहाँले बताउनुभयो ।

आइडीएसका पालिका संयोजक रूपा ढाँटले विद्यार्थीको स्वास्थ्यसँग जोडिएको कुरा हुँदा सरसफाइ अनिवार्य गरेको बताउनुभयो । “सबैभन्दा संवेदनशील कुरा स्वास्थ्य नै हो”, उहाँले भन्नुभयो, “स्वास्थ्य जोगाउन सरसफाइ अतिआवश्यक भएको हुँदा सबै विद्यालयमा अभियान नै चलाएका हौँ ।”
उहाँले आफ्नो थोरै पुँजीले केही गर्न नसके पनि सरसफाइमा विद्यार्थीलाई चेतना जगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “एकीकृत विकास समाज (आइडीएस)को धेरै लगानी त छैन तर, सरसफाईका लागि भने नियमित सक्दो सहयोग गरिरहका छौँ ।” अहिले पालिकाका सबै विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत सरसफाइका कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो ।

बुङ्गल नगरपालिकामा ८२ सामुदायिक विद्यालय छन् । विगत केही वर्षयता आधारभूतदेखि माध्यमिक तहसम्मका विद्यालयमा समस्या खानेपानीकै थियो । कतै पानी भएर पनि प्रयोगमा नआउने त कहिल्यै पानी नै नहुने समस्या अहिले भने केही हदसम्म टरेको छ ।

नगरपालिका प्रमुख जयबहादुर धामी भन्नुहुन्छ, “विगतका दिनमा अधिकांश विद्यालयमा खानेपानीकै समस्या हुन्थ्यो । अहिले भने धेरै नै फेरिएको छ । विद्यालयमा बनेका धाराका संरचना पनि सबैलाई समान भन्ने छन् । विद्यार्थीमा सरसफाइको चेतना फैलिएको छ ।”

उहाँका अनुसार अहिले कतिपय विद्यालयमा धारा तथा शौचालय निर्माणाधीन अवस्थामा छन् भने कतिपयमा सम्पन्न भइसकेका छन् । सङ्घसंस्था तथा पालिकाको सहकार्यमा सचेतनामूलक कार्यक्रमले सबैलाई जिम्मेवार बनाएको उहाँले बताउनुभयो । “सबैसँगको सहकार्यमा विभिन्न सङ्घ संस्थाले गरेको काम प्रभावकारी हुँदै गएको छ”, उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षाका लागि सरसफाइ, स्वास्थ्य, भौतिक संरचना तथा वातावरण अति नै आवश्यक हुन्छ । अहिले बुङ्गलमा पनि त्यसको अभ्यास भइरहेको छ ।” बालबालिकाको स्वास्थ्य तथा पोषणका लागि हरेक विद्यालयमा सरसफाइलाई पहिलो प्राथमिकता दिएको आइडीएसका बुङ्गल संयोजक ममता सिंहले बताउनुभयो ।

सचेतना फैलाउँदै बालबालिका

केदारस्यूँ गाउँपालिका–४ बखेत स्थित सिद्धिगणेश आधारभूत विद्यालयमा अध्ययनरत मुकेश भारती ५ कक्षामा पढ्नुहुन्छ । उहाँ परिवारको निकै जानकार सदस्य भइसक्नुभएको छ । परिवारमा मात्रै होइन, समुदायमै सरसफाइ गर्नुपर्ने सुझाव दिइरहनुभएको छ ।

विद्यालयको सिकाइले परिवारलाई मात्रै नभई समुदायलाई समेत आफ्ना कुरा सेयर गर्दा निकै खुसी लागेको उहाँले बताउनुभयो । “सरसफाइका कुरा विद्यालयमा सिकेपछि हाम्रो घरमा मेरै जिद्दीले धारामा साबुन राख्यो, बेलाबेला भनेपछि अहिले हाम्रो टोलमै बढीजसो हात धोएर खान्छन् । पहिले पहिले कराउने अहिले मलाई सबैले राम्रो मान्छन् ।”

सुरुमा सिद्धिगणेशमै धेरै धुलैधुलो हुन्थ्यो । पछिल्लो समयमा भने विद्यालयमा पर्याप्त पानी भएपछि धुलो माटो सबै हराएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी १÷२ कक्षामा पढ्ने बेला यहाँ माटै माटो हुन्थ्यो । बिहान स्कुल आउँदा विद्यार्थी जस्तो भए पनि साँझ घर जानसम्म धुलाम्य भएर बस्तुभाउ चराएर फर्किएजस्तो हुन्थ्यो । अहिले विद्यालयमा पानी आएर कक्षाकोठा, चौर, शौचालय, विद्यार्थी सबै सफा छन् ।”

उहाँका अनुसार विद्यालयमा नियमित पानी आएपछि सरसफाइको सुरूआत भएको हो । पानी आएको एक हप्तासम्म त सबैले शिक्षक शिक्षिकाले हात धुन मात्रै सिकाएको उहाँले बताउनुभयो । “विद्यालयमा सुरूमा सरले हात धोउ भन्नुभयो, हामीले घरमै धोएजसरी धोयौँ, सरले फेरि धुन लगाउनुभयो, त्यो पनि भएन भन्नुभयो । त्यसपछि सरले हात धोइदिनुभयो । उहाँले सिकाए जसरी नै अहिले पनि गरिरहेको छु ।”

सरसफाइबारे थाहा भएको र खासै चासो नदिएको अवस्थामा छोराकै दबाबले अहिले नियमित हात धुने गरेको उनका बुवा हरिसले बताउनुभयो । उहाँले भन्नुभयो, “सरसफाइमा हामी मात्रै होइन यता कसैले पनि ध्यान दिँदैन थिए । हाम्रै बालबालिकाले यो अनिवार्य हो भने पनि हामी झस्कियौँ । अहिले सरसफाइकै अतिआवश्यक जस्तो बुझेका छौँ ।”

तीन कक्षामा पढिरहेका ९ वर्षीय मुकेश भारती पनि खाना खानुअघि हात धुने कुरामा निकै ध्यान दिनुहुन्छ । “विद्यालयमा दिवा खाजा खाने घण्टी बज्नेवित्तिकै मुकेशलाई हात धुनुपर्छ भन्नुपर्दैन । ऊ आफैँ हात धोएर मात्रै खाजा खाने लाइनमा बस्छ”, प्रअ मायादेवी मल्लले भन्नुभयो, “मुकेश मात्रै होइन, हात नधोएर खाने बालकक्षाका विद्यार्थी पनि छैन । बालकक्षाका विद्यार्थीको हात धोइदिनुपर्छ । अरुले त आफैँले धोइहाल्छन् ।”

सरसफाइका लागि विद्यार्थी विद्यालयमा मात्रै नभएर घरमा पनि नियमित सरसफाइ गर्ने गरेको मल्लले बताउनुभयो । सङ्घसंस्थाले विद्यालयमा सहयोग गरेपछि आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा एकै भवन थियो, पछि सङ्घसंस्थाको लगानीमा भवन पनि बने । खाजा, खानेपानी, शौचालयको व्यवस्था पनि भयो । अब सबै पर्याप्त भएपछि हामीले त्यसको भरपुर सदुपयोग गरिरहेका छौँ ।”

साझेदार संस्था एकीकृत विकास समाज नेपालका जिल्ला संयोजक सुरेन्द्र जैरू भने विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रम लागू भएपछि संस्थाले भन्दा पनि विद्यालय आफैँ जिम्मेवार भएर अघि बढेको बताउनुभयो । “हाम्रो सहयोग अनिवार्य नै रहन्छ । तर त्यसमा विद्यालयले चासो दिएपछि स्वास्थ्य तथा पोषणमा प्रभावकारी हुने रहेछ । हामी त जिल्लाभर नै जान्छौँ । हामीले केही सहयोग गरे पनि विद्यालय स्वयं जिम्मेवार भएर अघि बढ्नुपर्छ । हाम्रो सहयोग त हुने नै भयो”, उहाँले भन्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित