काठमाडौं । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ ।
नेपाली टोली मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो ।
काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । चार टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा हुनेछ ।
नेपालले च्याम्पियनसिपको पहिलो खेलमा पुस ७ गते आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा ८ गते श्रीलंकासँग र ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
लिग चरणपछि पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहनेबीच सेमिफाइनल खेल हुनेछ । सेमिफाइनल विजेताले फाइनल खेल्नेछन् ।
नेपाली टोली :धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गुरौ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीमराज गुरुङ ।