इंग्लिस प्रिमियर लिगमा आर्सनललाई ५ अंकको स्पष्ट अग्रता
इंग्लिस प्रिमियर लिगमा आर्सनललाई ५ अंकको स्पष्ट अग्रता
    • Bell Sanchar

    • ९ माघ २०७९, सोमबार

इंग्लिस प्रिमियर लिगमा आर्सनलले शीर्ष स्थानमा ५ अंकको स्पष्ट अग्रता बनाएको छ।

गएराति इमिरेट्समा भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि संघर्षपूर्ण जित निकाल्दै आर्सनलले तालिकामा अग्रता बढाएको हो।

खेलमा युनाइटेडले सुरूवाती अग्रता बनाएको थियो। माकर्स ह्रासफर्डले खेलको १७ औँ मिनेटमा करिब २५ यार्ड परबाट आकर्षक गोल गरेका थिए।

त्यसको सात मिनेटपछि ग्रानित शाकाको पासमा एडी एनकेटियाले गोल गर्दै आर्सनललाई खेलमा फर्काए।

पहिलो हाफसम्म १-१ गोलको बराबरीमा सकिएको खेलको ५३ औँ मिनेटमा बुकायो साकाले गोल गर्दै घरेलु टोलीलाई २-१ ले अघि बढाए। तर यो अग्रता ६ मिनेटसम्म मात्र रह्यो।

लिजान्द्रो मार्टिनेजले युनाइटेडका लागि पहिलो पटक गोल गर्दै खेललाई बराबरीमा ल्याए। लगभग बराबरीमा सकिन लागेको खेलको अन्तिम मिनेटमा एनकेटियाले गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे।

यो जितपछि आर्सनलले प्रिमियर लिग उपाधि दौडमा नियन्त्रण राखेको छ। उसको १९ खेलबाट ५० अंक छ। चौथो स्थानको युनाइटेडको २० खेलबाट ३९ अंक छ।

गएरातिनै भएको अर्को खेलमा नर्वेजियन स्टार अर्लिङ हालान्डले ह्याट्रिक गरेपछि लिगमा म्यानचेस्टर सिटीले उल्भसलाई ३ – ० गोलले हराएको थियो। सिटीले लिगमा २० खेलबाट ४५ अंक जोड्दै दोस्रो स्थानमा कायमै छ।

साताकाे चर्चित
सम्बन्धित