काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा यूएई पपुवा न्यु गिनी (पीएनजी) सँग तेस्रो पटक पराजित भएको छ ।
घरेलु मैदानमा भइरहेको लिग टू अन्तर्गत शृखंलामा यूएई आइतबार पीएनजीसँग ५ विकेटले पराजित भएको हो ।
जारी शृंखलामा पीएनजीले दोस्रो पटक यूएईलाई पराजित गरेको हो ।
अघिल्लो खेलमा पीएनजीले यूएईलाई १३१ रनले पराजित गरेको थियो ।
यसअघि २०२२ मार्चमा यूएईमै भएको शृखंलामा पीएनजीले यूएईलाई लिग टू मा पहिलो पटक हराएको थियो ।
पीएनजीले लिग टू मा यो सहित अहिलेसम्म जम्मा चार खेल मात्र जितेको छ । जसमा तीन जित यूएई विरुद्ध हो भने एक खेल अमेरिका विरुद्ध ।
दुबईमा भएको लो स्कोरिङ म्याचमा यूएईले दिएको ९८ रनको लक्ष्य पीएनजीले २६.५ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्यो ।
पीएनजीका टोनी उराले अविजित ३५ रन बनाए । बलिङमा यूएईका रोहन मुस्ताफाले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएई २६.२ ओभरमा ९७ रनमा अलआउट भएको थियो । यूएईका लागि भृत्य अरभिन्दले सर्वाधिक २६ रन बनाए ।
एईलाई अलआउट गर्न पीएनजीका राइले हेकुरेल ४.२ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ५ विकेट लिए ।
चाड सपरले ३ तथा चार्ल्स अमिनीले १ विकेट लिए ।
यूएईमा जारी शृखंलामा सोमबार नेपाल र यूएईबीच अन्तिम खेल हुनेछ ।
पीएनजीसँग पराजित भएपछि यूएईलाई शीर्ष तीनमा रहन बाँकी सबै ४ खेल जित्नुपर्ने बाध्यता बनेको छ ।
यस्तै नेपालले पनि शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन बाँकी पाँचवटै खेल जित्नुपर्नेछ ।
सोमबार यूएई विरुद्ध हुने खेल नेपालको लागि जित्नैपर्ने अवस्थामा छ । यदी नेपाल यूएईसँग पराजित भए शीर्ष तीनको सम्भावना सकिनेछ ।
शीर्ष पाँचमा रहँदै ओडीआई मान्यता जोगाउन भने नेपालले पाँच मध्ये तीन खेल जिते पुग्नेछ । यूएई ३१ खेलबाट ३१ अंकसहित पाँचौ स्थानमा छ ।
समान खेलबाट ३० अंकसहित नेपाल छैटौं स्थानमा छ ।
३२ खेलबाट ९ अंक जोडेको पीएनजी अन्तिम स्थानमा छ । लिग टू को शीर्ष तीनमा रहने टोली जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्नेछन् ।
पहिलो स्थानमा रहेको स्कटल्याण्ड र दोस्रो स्थानमा रहेको ओमानले भने विश्वकप छनोटमा स्थान बनाइसकेका छन् ।