जनकपुरधाम ।
जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको छ ।
नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन् ।
आजको दिन देशभरी रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत-रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ ।
आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
यो पर्व चैती नवरात्रीको बीचमै परेकाले आजको दिन भगवान रामको साथै आदि शक्ति नव दुर्गा देवीको समेत पूजा गरिन्छ । रामनवमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।