सुर्खेतको पञ्चपुरीका पूर्वमेयर थापासहित ६ जनाविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा
सुर्खेतको पञ्चपुरीका पूर्वमेयर थापासहित ६ जनाविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा
    • बेल संचार

    • २१ चैत्र २०७९, मंगलवार

काठमाडौं ।

सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगरप्रमुख उपेन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतलगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमूना गाउँ निर्माण कार्यक्रम सञ्चालनका क्रममा आर्थिक अनियमितता गरेको भन्दै मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन नगर प्रमुख थापाले नमूना समाज सुर्खेतसँग सम्झौताबमोजिमको कार्यक्रम सञ्चालनका लागि नगरपालिकाको कुनै बैठकबाट निर्णय नगराएको, कार्यक्रम सञ्चालनसम्बन्धी कुनै प्रस्ताव समेत माग नगरेको, संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐन/नियमावली लगायतका प्रचलित कानून समेतलाई बेवास्ता गरेको, सम्झौता गर्नुपूर्व उक्त संस्थाले प्रतिबद्धता जनाएको रकम ल्याई खर्च गर्नसक्ने क्षमता र विश्वसनीयता नजाँचेकाे तथा फिल्डमा काम गरे नगरेको नहेरी रकम भुक्तानीका लागि निर्देशन दिएको भन्दै विपक्षी बनाइएको छ । थापाविरुद्ध ५० लाख बिगो कायम गरिएको छ ।

यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरी र माेहनबहादुर बस्नेत, लेखापाल लक्ष्मीप्रसाद अधिकारी तथा नमूना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जीए, अध्यक्ष भूमिसरा पुलामीलाई विपक्षी बनाइएकाे छ । बस्नेतविरुद्ध ५० लाख, गिरी र अधिकारीविरुद्ध २०/२० लाख तथा नमूना समाजका जीएम र पुलामीविरुद्ध ५० लाख बिगो कायम गरिएको  छ।

नमूना समाजले नगरपालिकाबाट प्राप्त रकम सम्झौताबमोजिम खर्च नगरेको तथा नक्कली बिल भर्पाइ र कागजात तयार पारी पैसा हिनामिना गरेको आरोप छ ।

‘उद्यमशीलता परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकासमेतसँग सम्झौता गरी नगरपालिकाबाट प्राप्त रकम सम्झौताबमोजिम खर्च नगरी नक्कली बिल भरपाई र कागजात तयार गरी खर्च भएको भन्ने देखाई आफूसमेतलाई गैरकानूनी लाभ पुर्‍याउने बदनियतले कार्य गरी नगरपालिकासँग भएको सम्झौताबमोजिम कार्य नगरेको हुनाले निजहरू दुवैजना र नमूना समाज सुर्खेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको देखिन आएको हुँदा बिगो रु.५०,००,०००।– (पचास लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र बिगो रकमसमेत जफत गरिपाउन मागदाबी लिइएको छ,’ अख्तियारका प्रवक्ता भोला दाहालद्वारा मंगलवार जारी विज्ञप्तिमा भनिएको छ ।

साताकाे चर्चित
सम्बन्धित