काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका लागि लगानीकर्ता समक्ष आह्वान गरेका छन् ।
बुधबार ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले यस्तो आह्वान गरेका हुन् ।
‘नेपालमा ऊर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दछु, लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ’ उनले भने ।
सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको भन्दै उनले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न समेत सरकार तयार रहेको उल्लेख गरे ।
निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले ऊर्जामा राम्रो प्रतिफल दिएको भन्दै उनले भने, ‘नेपालको गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो ।’
‘ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएका हुन् ।
निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र बनेको छैन, विदेशमा विद्युत निर्यात गर्न थालेको छ ।
यो हाम्रा लागि खुशीको खबर हो । यसले ऊर्जामा लगानीकर्तालाई आकर्षित समेत गरेको छ’ मन्त्री महतले भने ।