काठमाडौं ।
गोकुलम केरलाबाट भारतीय आई लिगको उपाधि जितेका मनिष तिम्सिना मनाङ मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकको रुपमा अनुबन्ध भएका छन् ।
कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङले सिजनको बीचमा मनिषलाई गोलकिपर प्रशिक्षक बनाएको हो ।
मनिषले सामाजिक सञ्जालमा पोष्ट राख्दै नयाँ प्रोजेक्ट सुरु भएको बताएका छन् ।
आई लिग सकिएर नेपाल फर्केका उनले पहिलो पटक मनाङको प्रशिक्षण टिममा जोडिने मौका पाएका हुन् ।
गोकुलम केरलाले २०२१-२२ को सिजन आई लिग जित्दा मनिष गोलकिपर प्रशिक्षक थिए ।
मनाङले लिगको १८औं चरणमा आइतबार शीर्ष स्थानको जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछन् ।
मनाङले यसअघि नै मुख्य प्रशिक्षक परिवर्तन गरिसकेको छ । सुरुमा किरण श्रेष्ठ मनाङको प्रशिक्षक थिए ।
तर लगातार हारपछि किरणले क्लब छाडे । त्यसपछि मनाङले विष्णु गुरुङलाई दुई वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।