काठमाडौं ।
एसिया कप २०२३ क्रिकेट आयोजना गर्नका लागि श्रीलंकाले प्रस्ताव गरेको छ ।
एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने तय गरिएको थियो ।
तर, भारले पाकिस्तान गएर खेल अस्वीकार गर्ने अनि पाकिस्तानले पनि आयोजना स्थल सार्न नमानेपछि एसिया कप कहाँ हुने अन्योल भइरहेको छ ।
त्यसैले श्रीलंकाले एसिया कप आयोजनाका लागि इच्छा देखाएको हो ।
सोमबार श्रीलंका क्रिकेट बोर्डले एसीसीले स्वीकृति दिए एसिया कप आयोजना गर्न आफूहरु तयार रहेको बताएको छ ।
‘श्रीलंका क्रिकेट छोटो नोटिसको आधारमा एसिया कप आयोजना गर्ने तयारीमा छ ।
अब यसको निर्णय एसीसीले गर्नेछ,’ सोमबार श्रीलंका क्रिकेटका अफिसियललाई उदृत गर्दै क्रिकबजले लेखेको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलको अवसरमा भएको छलफलमा बीसीसीआई, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रिकेट बोर्डले एसिया कप एउटै स्थलमा आयोजना हुनुपर्नेमा सहमति जनाएका थिए ।
तर आयोजना स्थल भने तोकिएको छैन ।
पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान र यूएई दुई स्थानमा प्रतियोगिता आयोजनजा गर्ने हाइब्रिड मोडल प्रस्ताव गरेको थियो ।
तर भारतीय क्रिकेट बोर्डले यसलाई अस्वीकार गर्दै आएको छ ।
क्रिकबजका अनुसार बीसीसीआई स्रोतले अब कि एसिया कप कोलम्बोमा हुने कि नहुने अवस्था रहेको छ ।
श्रीलंका क्रिकेट बोर्डले पनि बीसीसीआईलाई साथ दिएको छ र बीसीसीआईको अनुसार नै अगाडि बढ्ने जनाएको भारतीय मिडियाले उल्लेख गरेको छ ।
एसीसीको आधिकारिक बैठक अर्को साता हुने सम्भावना छ । जसले एसिया कपको बारेमा अन्तिम निर्णय गर्ने अपेक्षा छ ।
आईपीएलको फाइनल अवसरमा भएको अनौपचारिक छलफलमा नेपालबाट नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतर बहादुर चन्द सहभागी थिए ।
‘अनौपचारिक छलफल भएको हो । तर अन्य केही निर्णय भएको छैन ।’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको आजदेखि सुरु हुने भारत भ्रमणमा पनि क्यान अध्यक्ष चन्द समावेश हुने पाठकले जानकारी दिए र त्यस अवसरमा दुई देशबीचको क्रिकेटको विषयमा पनि कुरा हुने अपेक्षा रहेको पाठकले बताए ।
एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल पनि एकै समूहमा छ । वैशाखमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको हो ।
दुई ठूला टेष्ट राष्ट्रसँग नेपालले खेल्ने अवसर पाएकोले पनि अहिले एसिया कप कहाँ हुन्छ भन्ने चासो नेपाली क्रिकेटप्रेमीलाई धेरै छ ।
अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।