बेंगलुरु ।
बेंगलुरुस्थित कान्तरभा स्टेडियममा बुधबार (आज) कुवेतविरुद्ध मैदान उत्रँदै नेपालले १४ औं संस्करणको साफ च्याम्पियनसिप यात्रा सुरु गर्दैछ ।
नयाँ प्रशिक्षक युवा खेलाडीहरुको आगमन अनि थोरै तयारीसहित नेपाली टोली बेंगलुरु आइपुगेको छ ।
पहिलो पटक साफ च्याम्पियनसिपमा नेपाली टिम हेरिरहेका इटालियन युवा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले कुवेत विरुद्धको खेल राम्रो नतिजा ल्याउने विश्वास राखेका छन् ।
मंगलबार कुराकानीमा प्रशिक्षक एनेसले प्रतियोगिताको लागि थोरै समय भएपनि राम्रो प्रदर्शन गर्ने बताए ।
‘हामीले तयारीका लागि थोरै समय पाए पनि फिजिकल्ली फिट छौँ । कुवेत पनि राम्रो टिम हो तर उनीहरुको स्तर कस्तो छ थाहा छैन ।
यद्यपि उनीहरुको अनुभवी कोच छन्,’ एनेसले भने । ‘राम्रो विपक्षी हो, हाम्रो लागि धेरै ठूलो चुनौती छ ।’
ए डिभिजन लिग सकिएलगत्तै मैत्रीपूर्ण खेल खेल्न फिलिपिन्स पुगेको नेपालले एकीकृत रुपमा थोरै समय मात्र तयारी गर्न पायो ।
प्रशिक्षक एनेसले पनि केही दिन तयारी गर्न पाएको भए अझ राम्रो हुने बताए । ‘फिलिपिन्स विरुद्धको जम्मा दुई दिनको तयारी गरेर पनि खेल राम्रो भयो ।
हामीले दुई अवसर गुमायौँ र एक सेभ गर्न सकेनौँ । तर त्यो खेलअघि १० दिनको समय पाएको भए हामी जित्न सक्थ्यौं,’ उनले समीक्षा गरे, ‘यस खेलबाट धेरै सहयोग पुगेको छ ।
हरेक खेल र हरेक टे«निङ सेसनले पनि टिमको लागि सहयोग गरेको छ ।’
३८ वर्षीय इटालियन नागरिक भिनसेन्चो नेपालको प्रशिक्षक बनेको जम्मा साढे तीन महिना मात्र भएको छ ।
यो समयमा नेपालको लिग पनि भएकाले उनले टिमसँग एकसाथ धेरै समय काम गर्न पाएनन् । त्यसैले वास्तविक भएर पनि सोच्नुपर्ने उनलाई थाहा छ ।
प्रशिक्षक एनेसले स्पष्ट लक्ष्य नबताए पनि उनी सकारात्मक रुपमा साफ च्याम्पियनसिप सुरुवात गर्न चाहन्छन् ।
उनी हल्ला गरेर लक्ष्य राखेर मैदान उत्रँदैनन् । उनको आफ्नै फिलोसोफी छ ।
‘मैले अहिलेसम्म फुटबलमा ५ उपाधि जितेको छु । तर फुटबलबारे मेरो विचार के छ भने म कहिल्यै लक्ष्य राखेर अघि बढ्दिनँ,’ एनेसले भने, ‘फुटबल भनेको ९० मिनेटमा बल घुमिरहने खेल हो ।
लाखौंको सपना पूरा गर्नका लागि बल नेटमा छिराउनुपर्छ । कहिलेकाहीँ तपाईंले चाहेको जस्तो नतिजा नआउन पनि सक्छ ।’
उनले साफ च्याम्पियनसिप मैत्रीपूर्ण खेल नभएर प्रतियोगिता भएको भन्दै यसमा फरक अवस्था हुने बताए । त्यसैले उनी अहिले कुवेत विरुद्धको खेलमा मात्र केन्द्रित छन् । ‘मेरो ध्यान अहिले कुवेतको खेलमा मात्र केन्द्रित छ । एक–एक खेलमा केन्द्रित हुँदै जाने हो । अहिले भारत विरुद्धको खेलबारे सोचेको छैन ।’
कुवेत परिचित विपक्षी
मिडल इस्ट राष्ट्र कुवेत पछिल्लो समय नेपालको लागि परिचित प्रतिद्वन्द्वी जस्तै बनिसकेको छ । २०१९ यता नै नेपालले कुवेतसँग पाँच खेल खेलिसकेको छ । तर नेपालले अन्तर्राष्ट्रिय फुटबलमा कुवेतलाई हराउन सकेको छैन ।
नेपालले अहिलेसम्म कुवेतविरुद्ध ९ खेल खेल्दा एक खेल मात्र बराबरी गरेको छ भने ८ खेलमा पराजित भएको छ । २०१९ मा भएको मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको थियो । त्यही नै अहिलेसम्मको राम्रो नतिजा हो ।
पछिल्लो पटक २०२२ मा भएको एसिया कप छनोटमा नेपाल कुवेतसँग ४–१ ले पराजित भएको थियो । उक्त खेलमा नेपालका लागि दर्शन गुरुङले गोल गरेका थिए । तर उनी अहिले अष्ट्रेलियामा छन् ।
कुवेत आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ च्याम्पियनसिप खेल्दैछ । अहिलेसम्म हराउन नसकेको प्रतिद्वन्द्वीविरुद्ध सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल छ ।
उता पहिलो पटक साफमा खेल्न बोलाएको कुवेतका पोर्चुगिज प्रशिक्षक रुई बेन्टोले साफलाई धन्यवाद दिएका छन् र यस प्रतियोगितामा केही उपलब्धि हासिल गर्ने लक्ष्यमै कुवेती टिम बेंगलुरु आएको उनले बताएका छन् ।