दाङ ।
भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन् ।
गएरातिदेखि लगातार परेको पानीका कारण देउखुरीका लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ । लमहीको सुनडबरी, राजपुर ५ भुर्कीहवामा केही घर ठाउँ डुबानमा परेको केन्द्रले जानकारी दिएको छ ।
त्यस्तै देउखुरीमा खहरे खाेलामा बाढी आउदा बस्तीहरु जाेखिममा परेका छन् । काैडिया खाेला र सिंगे खाेलामा बाढी आउँदा तल्लो तटीय क्षेत्रमा रहेका बस्ती डुबानकाे उच्च जाेखिममा छन् । अहिले पनि पानी परिरहेकाले दिनभर सतर्क रहन अपिल गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबईलगायत अन्य नदीहरूको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपिल गरेको छ । दाङका बगासोती, लालमटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा लगायतका स्थानमा भारी वर्षा मापन भएको छ।