काठमाडौं
आज साउन पन्ध्र अर्थात् खीर खाने दिन। खीर साउन १५ मा मात्रै होइन विवाह, व्रतबन्ध, पास्नी लगायतका शुभकार्यमा पनि खाने चलन छ। तर आजको दिनलाई विशेष गरी खीर खाने पर्वका रुपमा लिइन्छ।
शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ। साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ। रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ। झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ।
चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ। खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्छ। खीर उच्च क्यालोरी भएको खाना हो। दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ। चामलमा कार्बोहाइड्रेट पाइन्छ। खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ।
त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो। व्रत बसेका बेला त खीर खाने हाम्रो चलन नै छ। साथै, लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ।
खीरसँगै फलफूल तथा सब्जी पनि खाइन्छ, जसले थप पोषणको आपूर्ति गर्छ। जसले गर्दा व्रत बसेका बेला वा शरीर कमजोर भएको अवस्थामा पनि लामो समय ताजगी दिन्छ। यो शक्तिवद्र्धक अनि मीठो पनि भएकाले पहिलेपहिले धनीले खाने खान्की भन्ने चलन थियो।
यस्ता छन् खीर खानुको फाइदाः
–खीरमा मिसाइने चामलमा कार्बोहाइड्रेड पाइन्छ। जसले शरीरलाई शक्ति प्रदान गर्छ।
– चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ– भिटामीन ए प्राप्त हुन्छ।
– शरीरमा चिल्लो पदार्थको मात्रा परिपूर्ति हुन्छ।
–खीरमा मिसाइने विभिन्न किसिमका पदार्थहरुबाट खनिज तथा भिटामिन पाइन्छ।
– खीर सहजै पचाउन सकिन्छ।