जाजरकोट ।
जङ्गली च्याउ खाँदा यहाँ एकको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छन् ।
विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो ।
मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ् । आमा, छोराले जङ्गलबाट ल्याएको च्याउ खाएका थिए ।
च्याउ खाएलगत्तै आमाछोरा बेहोस भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो ।
आमा किविलीको स्थानीय लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
उहाँलाई थप उचारका लागि दल्ली अस्पताल लैजाने तयारी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताउनुभयो ।
जङ्गलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभावी नखान गाउँपालिका अध्यक्ष गिरीले स्थानीयलाई आग्रह गर्नुभएको छ ।