काठमाडौँ
अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्नुभएको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उहाँले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ ।
राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा आम नागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ । कलेज जीवनमा नै यसलाई नजिकबाट नियालेकाले यससम्बन्धी केही ज्ञान छ ।” उहाँले आफू कुनै पार्टीको विचारसँग नभई केही व्यक्तिसँग प्रभावित रहेको बताउनुभयो ।
सामाजिक विषयको चलचित्रमा देखिँदै आउनुभएकी अभिनेत्री खड्काले आफू अभिनित चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताउनुभयो । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएकाले यसपटक दर्शकले फरकरूपमा पाउने उहाँको भनाइ थियो । अभिनेत्री खड्काले भन्नुभयो, “मैले कलाकात्मक चलचित्रमा केही समय अभिनय गरेँ । यो पूर्णरूपमा व्यावसायिक हो । त्यसैले यो मेरा लागि महत्वपूर्ण छ ।”
निर्देशक कृषा चौलागाईँले आफ्नो लगावका कारण चलचित्र निर्देशन यात्रा सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीका रूपमा जोडिए । त्यसपछि केही छोटा चलचित्र र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ । यो म एक्लोभन्दा पनि सम्पूर्ण समूहकै प्रयासले सफल भएको हो ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गर्नुभएको छ । यसमा अभिमन्यू निरवीले कथा, पुरुषोत्तम प्रधानले छायाँङ्कन, कविराज गहतराजले नृत्य निर्देशन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत, रेनिश फागोले रङ्ग संयोजन, विपिन मल्ल र भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको छ