दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका आमा–छोरीको मृत्यु भएको छ । बुबाको अवस्था गम्भीर रहेको छ ।
साउन २८ गते साँझ बंगलाचुली–४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर बिरामी परेका तीन जनामध्ये दुई जना अर्थात एकै घरका आमा–छोरीको मृत्यु भएको हो ।
च्याउ खाएर गम्भीर बिरामी परेकी बंगलाचुली ४ बस्दै आएकी २७ वर्षिया ईश्वरी सुनारको उपचारका क्रममा शुक्रवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस अघि उनकी ११ वर्षीया छोरी अस्मिता सुनारको साउन ३२ गते (बिहीवार) उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो ।
गम्भीर घाइते भएका अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । अजय ईश्वरीका श्रीमान् हुन् ।