चितवनको केरामा ‘ओइलाउने’ रोग
चितवनको केरामा ‘ओइलाउने’ रोग
    • बेल संचार

    • ८ भाद्र २०८०, शुक्रबार

चितवन ।

चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका अनुसार कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा रहेका केरा बगैँचामा यो समस्या देखिएको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार विभिन्न व्याक्टेरियाका कारण ओइलाउने रोग लाग्ने गर्दछ । ‘अहिलेसम्म कार्यालयमा चारवटा बगैँचामा यस्तो समस्या आएको सूचना आएको छ,’ उनले भने । अहिले नयाँ बिरुवा रोपिएको बगैँचामा यो रोग देखिएको उनको भनाइ छ ।

पुराना बालीका अवशेष, रोगी बिरुवा, गाना तथा कृषि औजार, मौरी तथा अन्य कीराको माध्यमबाट व्याक्टेरिया केरामा सजिलैसँग सर्ने उनले बताए । यो व्याक्टेरियाले गुभोको पातबाट आक्रमण सुरु गर्ने उनले जानकारी दिए ।

सरसफाइ तथा बगैँचाको उचित व्यवस्थापन गर्नुपर्ने, फलको अन्तिम हाता निस्किएपछि बुङ्गो हटाइदिनुपर्ने, रोगी बिरुवाको गानोसहित हटाएर नष्ट गर्न सके यो रोगको सङ्क्रमण फैलनबाट बचाउन सकिने उनले बताए ।

एउटै जग्गामा लामो समयदेखि केराखेती गरिरहँदा, रोग लागेको बगैँचामा प्रयोग गरिएको औजार निर्मलीकरण नगरी अर्को बगैँचामा प्रयोग गर्दा रोग सर्ने गरेको उनले जानकारी दिए । केराको जराभन्दा माथि गानो कुहिने हुँदा त्यसमा अन्य रोगले समेत आक्रमण गर्ने गरेको देखिएको उनले बताए ।

केरा जोन सञ्चालक समन्वय समितिका संयोजक विष्णुहरि पाण्डेका अनुसार जिल्लामा एक चरणमा ल्याइएको केराका बिरुवामा यो समस्या देखिएको हो । उनले सो चरणमा १० हजार बिरुवा झारिएको बताउँदै ती बिरुवा लगाएका बगैँचामा यो समस्या देखिएको जानकारी दिए ।

परियोजनाअन्तर्गत केरा जोन कार्यक्रमले वितरण गरेको केरामा रोग देखिएको हो । जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा केराखेती गरिँदै आइएको छ । यहाँ मालवोग र जी नाइन जातका केरा लगाउने गरिन्छ । यहाँका केरा चितवनसहित काठमाडौँ, पोखरा, बुटवललगायतका सहरमा जाने गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित