काठमाडौं
सप्तकोशी पुलमा कार छोडेर बेपत्ता डा. प्रज्जवल कोइरालाको १० दिनपछि शव भेटिएको छ । दमक-१ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत ३२ वर्षीय सर्जन डा. कोइरालाको शव मंगलबार अपराह्न फेला परेको हो।
उनको शव बराहक्षेत्र नगरपालिका-२ स्थित कोसीको भँगालोमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । उनका अनुसार कोशीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
आफन्तले शवको पहिचान गरेपछि पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको उनले बताए ।
उनी भदौ १० गते राति सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका थिए । सप्तकोशी नदीको पुलमा उनको जुत्ता, मोजा र मोबाइल भेटिएको थियो।
उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।