काठमाडौँ,
नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाले जनप्रतिनिधिको सर्वाेच्च थलो सदनलाई राजनीतिको कुण्ठा अभिव्यक्त गर्ने थलो नबनाउन आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सदनमा जनजीविकाका सवालभन्दा धेरै राजनीति हुन थालेको भन्दै सदनलाई कानुन बनाउने र जनताको विषयमा बढी बहस गर्ने थलो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “एकले अर्कालाई शब्दले झटारो हान्ने प्रचलन बढेको छ, यसमा सबै जिम्मेवार भएर सच्चिनुपर्ने आवश्यकता छ ।”
उहाँले प्रमुख प्रतिपक्षी दलका नेताले विस्तृत शान्ति सम्झौताको मर्मविपरीत सदनमा भाषण गर्नुभएको टिप्पणी गर्दै राजनीतिक नेतृत्व अनुशासित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले बझाङमा गएको भूकम्पमा परी भएको क्षतिप्रति दुःख व्यक्त गर्दै धार्मिक र सामाजिक सद्भाव खलल गर्ने गरी कोही कसैले काम गर्न नहुने बताउनुभयो ।