काठमाडौँ
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इजरायलबाट नेपालीको उद्धार गरी स्वदेश फिर्ता ल्याउन आग्रह गर्नुभएको छ । इजरायलका विभिन्न स्थानमा भएका आक्रमणमा परी केही नेपाली घाइते तथा केहीलाई कब्जामा लिइएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले विज्ञप्तिमार्फत घटनाको भत्र्सना गर्नुभएको छ ।
इजरायलमा बसोबास गर्दै आएका नेपालीको यकीन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा तथा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पु¥याउन सभापति देउवाले आग्रह गर्नुभएको छ । आवश्यक उद्धार गरी यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्नसमेत उहाँले माग गर्नुभएको छ ।
सभापति देउवाले इजरायलमा कार्यरत नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी सङ्घसंस्था, आप्रवासी सङ्गठन (आइओएम), अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायसँग पार्टीका तर्फबाट आग्रह गर्नुभएको छ । उहाँले अप्ठ्यारोमा परेका नेपालीले आवश्यक सहयोगका लागि इजरायलस्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्नुहुन आह्वान गर्नुभएको छ ।