श्रमदान जुटाएर पदमार्ग निर्माण सुरु 
     श्रमदान जुटाएर पदमार्ग निर्माण सुरु 
    • बेल संचार

    • २७ आश्विन २०८०, शनिबार

म्याग्दी

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर पक्की पदमार्ग निर्माण थालिएको हो ।

नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको श्रमदान अभियानमार्फत उक्त पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीय श्रमदानमा जुटेका छन् भने प्रवासीले आर्थिक सहयोग गर्न थालेका छन् ।

निर्माण सुरु भएको १० दिन भएको भन्दै श्रमदान र आर्थिक सहयोग गर्नेको सङ्ख्या बढ्दै गएको नेकपा माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताउनुभयो । “हामीले जीर्ण पदमार्गलाई पुनःनिर्माण गर्न अग्रसरता लिएका हौँ । श्रमदानमा सबै जोडिनुभएको छ । अहिले यो सबैको साझा अभियान बनेको छ”, उहाँले भन्नुभयो, “देश विदेशमा रहनुभएकाहरुले पनि सहयोग गरिरहनुभएको छ ।”

भिरालो पाखो, पहिरो र वनको झाडी रहेकाले पदमार्गलाई दिगो बनाउन ढलान गरिएको कटुवालले बताउनुभयो । उहाँका अनुसार माओवादी केन्द्रका नेता कार्यकर्ताका साथै स्थानीयवासी श्रमदानमा जुटेका छन् ।

ढलानका लागि आवश्यक पर्ने, सिमेन्ट, बालुवा, गिटी र रडको व्यवस्थाका लागि स्वदेशका साथै विदेशमा रहेको भगवतीवासीले खार्थिक सहयोग गरिरहेका कटुवालले जानकारी दिनुभयो ।

यस पदमार्गको कुनौटादेखि च्युरीबास खण्ड अत्यन्तै जोखिमयुक्त थियो । कुनौटास्थित कालीगण्डकी नदी किनारमा रहेको घाटमा जानका लागि स्थानीय यही पदमार्गमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।

गाउँमा दिवङ्गत भएकाको अन्तिम संस्कारका लागि घाट जाने मुख्य बाटो जोखिमपूर्ण बनेपछि श्रमदानमार्फत पदमार्ग बनाउन थालिएको पदमार्ग निर्माण समितिका संयोजक भगवान केसीले बताउनुभयो । उहाँका अनुसार यस अभियानमा जोडिनेको सङ्ख्या बढ्दै गएको छ ।

“बेनी–जोमसोम सडकखण्ड पुग्न तथा जङ्गलबाट घाँसदाउरा ल्याउनका लागि यही पदमार्गको प्रयोग गरिन्छ”, केसीले भन्नुभयो, “विभिन्न सहयोगदाताले आफ्नो आफन्तको स्मृतिमा यो पदमार्ग बनाउने अभियानमा सहयोग गरिरहनुभएको छ । ”

साताकाे चर्चित
सम्बन्धित