काठमाडौं ।
इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो गाजाको अल शिफा अस्पतालको हो ।
इजरायली सेनाले सामाजिक सन्जालमा एक्स (साविक ट्वीटर)मा भिडियो सेयर गर्दै लेखेअनुसार हमासले बन्धक बनाएका एक नेपाली र एक थाई नागरिक हुन्
भिडियोमा एक जना घाइतेलाई अस्पतालको स्ट्रेचरमा सुताएर गुडाइरहेको र आकासे निलो रंगको टिसर्ट लगाएका अर्का एक जनालाई घचेट्दै हिँडाएको देखिन्छ । तर उनीहरुको अनुहार भने देखिँदैन । उक्त भिडयोमा हतियार बोकेका व्यक्तिहरु पनि देखिन्छन् ।
इजरायलको डिफेन्स आर्मीले उनीहरु हमासका ‘आतंकवादी’ भएको जनाएको छ । उनीहरुले गाजाको सबैभन्दा ठूलो अल शिफा अस्पताललाई इजरायलमा आक्रमण गर्न उपयोग गरिरहेको आरोप पनि इजरायलले लगाएको छ ।
यसअघि हमासले बन्धक बनाएका एकजना १९ वर्षीया इजरायली युवतीको शव अल शिफा अस्पताल नजिक फेला परेको थियो । इजरायलको दाबी अनुसार हमासले उनको हत्या गरेको हो । तर हमासले भने इजरायलको हवाई आक्रमणमा परी उनको मृत्यु भएको जनाएको छ ।