काठमाडौं ।
एसीसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । मंगलबार बिहान दुबईमा भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपालले यसअघि समूह चरणका दुवै खेल हारेको थियो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रोमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
समूह चरणका दुई खेलमा लगातार पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रूपमा मात्र जिवित छ ।
नेपालले आजको खेलमा भारतलाई ठूलो अन्तरले हराउँदै नेट रनरेट अघि रहन सके सेमिफाइनलमा पुग्न सक्ने झिनो सम्भावना छ । त्यसका लागि पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनु पर्नेछ।
प्रतियोगितामा ८ टोली सहभागी छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपाल रहेको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् ।
समूह ‘बी’मा आयोजक यूएई, बंगलादेश, जापान र श्रीलंका छन् । दुवै समूहमा शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
समूह ए को अन्तिम खेलमा आज नै पाकिस्तान र अफगानिस्तान आमनेसामने हुनेछन् । सो खेल पनि बिहान सवा ११ बजे नै शुरू हुनेछ ।