काठमाडौं ।
भारतको मुम्बईमा भएको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिज गुमाए पनि नेपालकी बिनिता पुन र मनकेशी चौधरी आफ्नो क्याटेगोरीमा उत्कृष्ट खेलाडी बनेका छन् ।
नेपालकी बिनिता बी थ्री तथा मनकेशी बी टु क्याटेगोरीमा उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यस्तै बी वान क्याटेगोरीमा भारतकी सिमु दास उत्कृष्ट बनिन् ।
पहिलो खेलमा ८ र दोस्रो खेलमा ४ रनले पराजित भएको नेपालले तेस्रो खेल १० विकेटले जित्दै सिरिजमा पुनरागमन गरेको थियो । तर बाँकी दुई खेलमा भारत ७ विकेट र ८ विकेटले विजयी भयो ।
त्यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
नेपालको लागि ओपनर बिनिता पुनले ३५ बल खेल्दै चौका मद्दतमा सर्वाधिक ५३ रन बनाए । कप्तान तथा विकेटकिपर गिता पौडेलले अविजित ४० रन बनाइन् ।
निशा डगौराले २४ र मनकेशी चौधरीले १४ रन बनाए । भारतकी सिमु दासले २ विकेट लिइन् । पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो ।