बझाङ
बझाङको मष्टा गाउँपालिका–५ द्वारी की कञ्चना कठायतले ३५ वर्षमा पाइला टेक्नुभयो । यो उमेरसम्म उहाँलाई प्रकृतिले सङ्कटमा पारेको अहिलेसम्म सम्झना छैन । बाल्यकालमा पर्याप्त आवश्यकता माइतीघरमा पूरा गर्नुभएकी कञ्चनालाई बिहेको दिनदेखि नै दौडधुप बढ्यो । माइतीघरमा छँदा सबै आवश्यकता पूरा गरिएको हुँदा सानोतिनो समस्याले उहाँलाई छुँदैन थियो । जब पराइघर जानुभयो, त्यसपछि उहाँमाथि सङ्कट आइलाग्न थाल्यो ।
उहाँलाई बिहेपछि घरको जेठो बुहारीको जिम्मेवारी झन थपियो । श्रीमान् खडक कठायतलाई पनि भाइबहिनीको शिक्षादिक्षालगायत जिम्मेवारी थपियो । त्यति हुँदाहुँदै घरमा उहाँहरुको वैवाहिक जीवन राम्रै चलेको थियो । सात वर्ष अगाडि घरमा सबै भाइहरुसहित बाआमा अलग हुनुभयो । घरको सम्पत्ति बाँडफाँट गरियो । त्यो बेलामा खडकका दुई सन्तान मात्रै थिए, दिव्य र सीमा ।
उहाँले परिवारबाट अलग भइसकेपछि एउटा घर निर्माण गर्नुभयो । घरमा सबै राम्रै चल्दै थियो । त्यसपछि सुरु भए उहाँका दुःखका दिन । दुई सन्तानको लालनपालन गर्न उहाँको कमाइले ठीकै हुन्थ्यो । उहाँले परिवारका लागि समय र घरखर्च चलाइरहनुभएको थियो ।
समयअनुसार भारत गएर राम्रै आम्दानी गर्ने खडकलाई कोरोना महामारीको ‘लकडाउन’ले निकै मर्कामा पा¥यो । त्यसपछि उहाँलाई सन्तोषजनक हुने समय कहिल्यै आएन । भारतमा भएको रोजगारी खोसियो र घर आउनुप¥यो । गाउँमा कतै काम पाइएन । उहाँलाई लकडाउनले फेरि भारत जाने अवस्था पनि रहेन ।
त्यसपछि उहाँको घरमा छोरीको जन्म भयो । त्यसको दोस्रो वर्षमा अर्को छोरा र तेस्रो फेरि छोरी जन्मिए । अहिले खडक छोराछोरीको पालनपोषणकै लागि भारतको उत्तर प्रदेशको खरीखानीमा पसिना बगाइरहनुभएको छ । खडक आधारभूत तहमै विद्यालय छोडेर विदेशिनुभएको थियो ।
“सुरुआती दिनमा अलि राम्रो कमाइ थियो”, कञ्चनाले भन्नुभयो, “अहिले आफूलाई खान पनि नपुग्ने कमाइ छ, सानोतिनो कमाएको यता पठाउनुहुन्छ, घरमा दाल, चामल किन्नसमेत पुग्दैन ।” द्वारीमा भएको आफ्नो जमिनबाट उत्पादन हुने अन्नले दुई महिना पनि नपुग्ने र बाँकी १० महिना नै किनेर खानुपर्ने उहाँले बताउनुभयो ।
द्वारीमा करिब चार सय परिवार बस्छन् । त्यसमध्ये दोघरी (दुई घर भएका), तेघरी (तीन घर भएका) धेरै छन् । खडकको भने एउटै घर छ । “गाउँलेहरु प्राकृतिक सङ्कट आउँदा अर्को घरमा जान्छन्”, कञ्चनाले भन्नुभयो, “मेरो परिवारका लागि भनेजस्तो परिस्थितिमा पनि अन्त जाने ठाउँ छैन, सबैले गाउँ छाडेर गए पनि हामी एक्लै यतै बस्छौँ ।”
गत वर्षभन्दा अगाडि जति दुःख भोग्दा पनि एउटा घर त छ भन्ने थियो । गत असोजदेखि त्यो पनि नरहेको उहाँले बताउनुभयो । असोज १६ गते भूकम्पले उहाँको परिवारमाथि थप बज्रपात निम्त्यायो । “चर्पी भत्कियो, ठाडो घर नै तेर्सो बनायो, ढल्ने–ढल्ने जस्तो भएको छ, ढोका नमिल्ने भएका छन्, त्यसैमा सुतिरहेका छौँ”, उहाँले भन्नुभयो । अब राति भूकम्प आयो भने ज्यानै जोगाउन मुस्किल हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दिउँसो भुइँचालो आए त भाग्न पनि सकिन्थ्यो, राति त सानो आए पनि घर निश्चित ढल्छ ।” भुइँचालो आएका बेलामा पनि भागेर ज्यान जोगाएको उहाँले सम्झिनुभयो । उहाँले भन्नुभयो, “एक दुई दिन त बाहिर त्रिपाल हालेर सुत्यौँ, जाडोका बेलामा सधैँभरि बाहिर बस्न पनि सकिँदैन, कतै नपाएर फेरि यसैमा टाउको जोगाएका छौँ ।”
अहिले कञ्चना घरमा पाँच छोराछोरीसहित बस्नुहुन्छ । खडक भारतमै ज्यालादारी गर्नुहुन्छ । “श्रीमान्ले सानोतिनो पठाएको यता खान पुग्दैन, घर केले बनाउनु, पैसा नभए अरु ठाउँ कसरी जानु ?”, उहाँ भन्नुहुन्छ । भुँइचालो आएपछि नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ (एनएनएसडब्लुए) र डिसिए नेपाल नामक कञ्चनपुरको संस्थाले भूकम्पको मारमा परेका परिवारलाई रु १५ हजार नगद सहयोग ग¥यो । त्यसमा उहाँको परिवार पनि प¥यो । संस्थाले मष्टामा मात्रै चार सय ८१ परिवारलाई रु १५ हजारकै दरले नगद सहयोग गरेको थियो ।
कतिपयले उक्त रकम टहरा निर्माणमा खर्च गरे भने कतिले अन्य प्रयोजनमा खर्च गरँे । खडकको परिवारले भने सो रकमले खाद्यान्न ल्याएको र मजदुरी गर्न भारत जान खर्च गरेको कञ्चनाले बताउनुभयो । पालिकाले भूकम्प आएका बेलामा एउटाएउटा त्रिपाल दिएको थियो । त्योभन्दाबाहेक अहिलेसम्म राहतको नाममा केही नपाएको उहाँले गुनासो गर्नुभयो ।
“संस्थाले दया गर्नाले बेसहारालाई केही राहत भयो”, स्थानीय दीपक कठायतले भन्नुभयो, “सरकारी तबरबाट केही आएको छैन, रु ५० हजार दिने मात्रै भनेको छ, अहिलेसम्म आएको छैन, आए पनि घर निर्माण गर्न निकै मुस्किल हुन्छ ।” उहाँका अनुसार उक्त रकम पनि सरकारी किस्ताबन्दीमा आउन सक्छ । सामान्य एउटा काठको टुक्रालाई हजार रुपैयाँ पर्छ भने त्यो रकमले अस्थायी आवास निर्माण गर्न चुनौती नै भएको उहाँले बताउनुभयो ।