गणतन्त्रको प्रतीक’ निर्माण प्रतियोगिता   
गणतन्त्रको प्रतीक’ निर्माण प्रतियोगिता   
    • बेल संचार

    • २३ पुष २०८०, सोमबार

काठमाडौँ

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कलामार्फत राज्यप्रति सकारात्मक भाव प्रदान गराउने उद्देश्यले यसपाली ‘गणतन्त्रको प्रतीक’ नमुना मूर्ति (म्याकेट) सिर्जना गर्ने प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगिताका विजेतालाई रु एक लाख पुरस्कार दिनेगरी नमुना मूर्ति निर्माणको प्रतिस्पर्धा गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताउनुभयो । उहाँका अनुसार नेपालको संविधान २०७२ अनुरुप नेपाललाई स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थाका रुपमा चिनाउने गरी मूर्ति निर्माणको प्रतियोगिता आयोजना गरिएको हो ।

मुलुकको परिवर्तनका लागि भएका देशभक्तपूर्ण आन्दोलन र सङ्घर्षका विषयमा केन्द्रित भई गणतन्त्रको प्रतीक नमूना मूर्ति (म्याकेट) सिर्जना गर्नका लागि कलाकारलाई सार्वजनिक आह्वान गरिसकिएको उहाँले बताउनुभयो । छनोट भएका उत्कृष्ट सिर्जनालाई पुरस्कार प्रदान गरिने छ । मूर्तिको आकार एक फिट देखि एक दशमलव पाँच फिटसम्मको हुनुपर्ने जनाइएको छ ।

आउँदो माघ २० गतेसम्ममा मूर्ति तयार पारी पेस गरिसक्नुपर्ने समयसीमा तोकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मूर्ति प्राप्त भएपछि प्रतियोगिताको मिति आगामी फागुनका लागि तोकिनेछ । पहिलो हुनेले रु एक लाख पुरस्कार पाउनेछन् । दोस्रोलाई रु ७५ हजार, तेस्रोलाई रु ५० हजार र प्रोत्साहन पुरस्कार दुई जनाले रु २५/२५ हजार पाउने प्रतिष्ठानले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित