पोखरा ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा भएको चौथो टाइगर कप (पुरुष)को उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।
शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपालले घरेलु टोली गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो ।
हेल्प नेपालले पहिलो र दोस्रो सेटमा क्रमश: २५–१३ र २५–१८ ले जित्यो । तेस्रो सेट गण्डकीले २५–२३ ले जितेर पुनरागमन आशा जीवित राखे पनि चौंथो सेट पुन: हेल्प नेपालले २५–१७ ले जित्यो ।
पहिलो पटक उपाधि जितेको हेल्प नेपालले ३ जना पाकिस्तानका राष्ट्रिय खेलाडी समावेश गरेको थियो । हेल्प नेपालले उपाधिसँगै ५ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।
त्यस्तै, उपविजेता बनेको गण्डकी प्रदेशले २ लाख ५५ हजार ५५५ रुपैयाँ पाएको छ । गण्डकी प्रदेशले ३ जना भारतीय खेलाडी सहभागी गराएको थियो ।
यसअघि शनिबार नै भएको महिलातर्फको फाइनल खेलमा विभागीय टिम एपीएफले जित्दै उपाधिमा ह्याट्रिक गरेको छ ।एपीएफले न्यूडायमन्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो पटक विजेता बनेको हो ।