काठमाडौं ।
तीन तहका सरकारबीच अन्तरसम्बन्ध स्थापित गराउने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, योजना आयोगका प्रतिनिधि, मन्त्रालयका सचिवहरु तथा नगरपालिका संघ, गाउँपालिका महासंघका प्रतिनिधिहरु सहभागी हुनेछन् ।
सरकारले पूर्वमुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा कार्यविस्तृतीकरण प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनमा अघिल्लो हप्ता प्रधानमन्त्री प्रचण्डसहित छलफल समेत भएको थियो । आज त्यसलाई अन्तिम रुप दिने प्रयास हुने छ । ‘संघ, प्रदेश र स्थानीय तहका अधिकार क्षेत्र संविधानमा उल्लेख भए पनि कतिपय अस्पष्ट विषयलाई कार्यविस्तृतीकरणले थप स्पष्ट पार्छ,’ प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्य गोकर्णप्रसाद भट्टले भने, ‘सम्भवतः आजको बैठकबाट कार्यविस्तृतीकरणलाई अन्तिम रुप दिने काम हुनेछ ।’